सडक दुर्घटनामा परी डा. सञ्जु खड्काको निधन
काठमाडौँ, १६ जेठ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सञ्जु खड्काको सडक दुर्घटनामा मृत्यु भएको छ। उनी प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको जीवन संगिनी हुन् भने उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी हुन् ।
घटना मंगलबार (आज) दिउसो साढे ४ बजे तिरको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका(८ मुगुवा खोली नजिकै पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार एकआपसमा ठोक्किएर थियो ।
ठोक्किदा कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले मृत्यु हुनेमा रुपन्देही निवासी ५३ वर्षकी डा. सञ्जु खाती खड्का र कार चालक गोरखा निवासी अन्दाजी ३४ वर्षीय सुवास अधिकारी रहेको पुष्टि गरेको छ ।
दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना पछि बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सञ्जुका श्रीमान डा खड्का भने विश्व स्वास्थ्य संगठनको ७६ औँ महासभामा भाग लिन जेनेभा गएका छन् । उनी भोलिको उडानबाट नेपाल फर्कने कार्यक्रम रहेको बुझिएको छ ।