घट्यो स्वास्थ्यको बजेट आकार : संघ, प्रदेश र स्थानीय तहको भागमा कति – कति पर्‍यो ?

काठमाडौँ, १६ जेठ । अर्थ मन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट बक्तव्य प्रस्तुत गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल ८३ अर्व ९९ करोड बजेट विनियोजन गरेको बताए ।

बजेट भाषण सुनिरहेका धेरैले यसलाई संघीय स्वास्थ्य मन्त्रालयको बजेट भनेर बुझे । त्यसैले कतिपयले गतवर्ष भन्दा स्वास्थ्यमा बजेट बढेर आयो भनेर पनि सामाजिक सञ्जालमा खुशी व्यक्त समेत गरे ।

तर, अर्थ मन्त्रालयको बजेट छलफलमा बसिरहेका स्वास्थ्यका अधिकारीहरु भने संघीय मन्त्रालयको मात्रै बजेट सो परिमाणमा छैन भन्नेमा ढुक्क देखिन्थे । हुन पनि केहीबेर पछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट वक्तव्यको मन्त्रालयगत व्यय अनुमान विवरणमा स्पष्ट भइहाल्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा छुट्याइएको भनिएको ८३ अर्व ९९ करोड १८ लाख रुपैयाँ संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो । यस अनुसार बजेट रकम गतवर्ष भन्दा १९ अर्व ९ करोड ९५ लाख कमी हो । गत वर्ष स्वास्थ्यलाई संघ, प्रदेश र स्थानीय तहमा गरी कुल १ खर्व ३ अर्व ९ करोड १३ लाख रुपैयाँ छुट्याएको थियो ।

स्वास्थ्यको बजेट आकार घटेको हो कि होइन ?
कतिपयले कुल राष्ट्रिय बजेटको आकार नै सानो हुँदा स्वास्थ्यको बजेट घट्नु स्वभाविक भएको बताएका छन् । तर बास्तविकता यस्तो होईन् । सरकारले गतवर्ष स्वास्थ्यलाई कुल बजेटबाट गतवर्ष ५.७५ प्रतिशत छुट्याएको थियो । यसपटक भने कुल बजेटको ४.८० प्रतिशत मात्रै हिस्सा स्वास्थ्यको भागमा परेको छ । यसर्थ स्वास्थ्यको बजेट गत वर्ष भन्दा सून्य दशमलव ९५ प्रतिशतले कमी हो ।

संघ, प्रदेश र स्थानीय तहको भागमा कति कति पर्‍यो ?

अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा छुट्याएको कुल ८३ अर्व ९९ करोड १८ लाख रुपैयाँ मध्ये संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४९ अर्व ८० करोड ५४ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै प्रदेश तहलाई ६ अर्व ५ करोड ८८ लाख रुपैयाँ र स्थानीय तहलार्ई २८ अर्व १२ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ ।

गत वर्ष स्वास्थ्यका लागि १ खर्व ३ अर्व ९ करोड १३ लाख बजेट हुँदा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६९ अर्व ३८ करोड २ लाख रुपैयाँ पाएको थियो । प्रदेशमा ६ अर्व २२ करोड ६८ लाख रुपैयाँ र स्थानीय तहमा २७ अर्व ४४ करोड ४३ लाख रुपैयाँ पठाएको थियो ।

यस हिसावले पनि यसपटक संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट गत वर्ष भन्दा १९ अर्व ५७ करोड ४८ लाख रुपैयाँले कमी देखिएको छ ।

प्रदेश तहमा स्वास्थ्यको बजेट गत वर्ष भन्दा यसपटक १६ करोड ८० लाख रुपैयाँ कम आएको छ ।

स्थानीय तहमा भने ६८ करोड ३३ लाख रुपैयाँ बढी गएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *