स्तन क्यान्सरबाट जोगिन ४० बर्ष देखि नै महिलालाई ‘म्यामोग्राफी’ गर्न सिफारिस
न्युयोर्क। अमेरिकाको प्रिभेन्टिभ सर्भिस टास्क फोर्स ( युएसपीएसटीएफ) ले स्तन क्यान्सरको जोखिमबाट जोगिनका लागि ४० बर्ष देखि नै स्क्रिनिङ सुरु गर्न सिफारिस गरेको छ । यसअघि ५० बर्ष नाघेका महिलाहरुले स्तन क्यान्सरको स्क्रिनिङ गरे हुने बताइएको थियो ।
टास्क फोर्सले सन् २०१६ को ५० बर्षमा स्क्रिनिङ गर्नुपर्ने व्यवस्थालाई अद्यावधिक गर्दै ४० बर्षमा झारेको हो ।
नयाँ सिफारिस अनुसार अब ४० बर्ष पुगेपछि महिलाले हरेक दुई दुई वर्षमा स्तनको स्क्रिनिङ गर्नु पर्ने हुन्छ । तर टास्क फोर्सले ४० बर्ष माथिका महिलाका लागि स्तनको स्क्रिनिङ गर्ने कार्यलाई ऐच्छिक भएको जनाएको छ ।
युएचपीएसटीएफका उपाध्यक्ष समेत रहेका जर्ज वासिङटन युनिभर्सिटीका प्राडा वान्डा निकहोल्सनले भने, ‘अब स्तन क्यान्सरबाट जोगिनका लागि हरेक महिलाले अब ४० बर्ष देखि म्यामोग्राफी गर्नुहोला, दुई वर्षको अन्तरमा यो म्यामोग्राफी ७४ वर्ष सम्म गर्न मिल्छ ।’
यसअघि नै अमेरिकन क्यान्सर सोसाइटी लगायतका क्यान्सर सम्वन्धी संस्थाहरुले ४० वर्ष पुगेका महिलाहरुले म्यामोग्राफी गर्न सकिने भन्दै आएका थिए ।
युएसपीएसटीएफ चिकित्सा क्षेत्रका विज्ञहरुको स्वतन्त्र समूह हो । यसको सिफारिकको आधारमा राज्यले नीति बनाउने र चिकित्सकहरुले लागू गर्ने हुन्छ ।