तीन वर्ष रोकिएको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ यसपटक वितरण गर्ने तयारी

स्वास्थ्य करकोष सचिवालयले माग्यो आवेदन

काठमाडौँ, २७ बैशाख । सरकारले तीन वर्ष देखि रोकिएको स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार यसपटक वितरण गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयले आगामी ३१ मे मा पर्ने विश्व धूमपान रहित दिवसको अवसरमा विभिन्न ६ विधामा सो पुरस्कार वितरण गर्ने जनाएको छ ।

यसअघि २०७६ साल १७ जेठका दिन यो पुरस्कार पहिलो पटक विभिन्न छ विधामा प्रदान गरिएको थियो । त्यसबेला व्यक्ति तथा संस्थाले जनही ५० हजार रुपैयाँका दरले यो पुरस्कार प्राप्त गरेका थिए ।

सचिवालयले आज जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात उत्पादन विक्री वितरण तथा सेवन कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति संघ संस्था कानून कार्यान्वयन नर्गे निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्येबाट छ जनालाई पुरस्कार दिईने उल्लेख छ ।

त्यसमा व्यक्ति /पत्रकार, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारी भनिएको छ । पुरस्कारका लागि प्रतिस्पर्धा गर्न चाहनेले आगामी ५ जेठ भित्र आफूले पुररयाएको योगदानको विवरण सहित आवेदन पेश गर्न भनिएको छ ।

कसरी स्थापना भयो स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार ?

विसं २०७६ जेठ १७ गते स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको हलमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पहिलो पटक स्वास्थ्य मन्त्री व्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण गरेका थिए । विभिन्न छ विधामा वितरित सो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ थियो ।

त्यसबेला पुरस्कार पाउनेमा नीति निर्माणमा उत्कृष्ठ काम गरेवापत तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारी, नीति कार्यान्वयनमा सक्रीय रहेका काठमाडौँका तत्कालीन प्रमूख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, कानून निर्माणमा सक्रीय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको थियो ।

यस्तै पत्रकारबाट गोरखापत्र दैनिकका सरोज ढुंगेल, पत्रकारिताकै माध्यमबाट नीति कार्यान्वयनमा जोड दिएको नयाँ पत्रिका दैनिक र सुर्ती नियन्त्रण सम्बन्धी अभियानलाई सक्रीय ढंगले लागेको पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल थियो ।

तर त्यसपपछिका तीन वर्ष पुरस्कार वितरण पुन: रोकियो ।

पुरस्कारको स्रोत के हो त ?

सबैलाई थाह नहुन सक्छ । यो पुरस्कारको स्रोत ब्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड हो । स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनाएको कानुनमा सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्नुपर्ने व्यवस्था गरेपछि सन् २०१५ मा नेपालले ब्लुम्बर्ग फिलान्थेपिक अवार्ड प्राप्त गरेको थियो ।

एक लाख डलर ९ एक करोड रुपैयाँ भन्दा बढी ० को सो पुरस्कार तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले त्यसबेला सयुक्त अरव इमिरेटसको दुवई भएको विशेष कार्यक्रममा पुगेर ग्रहण गरेका थिए ।

अवार्ड दिने बेलामा ब्लुम्बर्गले नेपालले कसरी उत्कृष्ठ बनाउन सफल भयो भन्ने बारेमा छोटो भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरेको थियो ।

हुन पनि नेपाल त्यसबेला सूर्तिजन्य पदार्थको प्याकेटको सबैभन्दा बढी भागमा चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्था गर्ने संसारकै पहिलो देश थियो ।

१ लाख डलरको ब्लुम्बर्ग अवार्ड आइसकेपछि सो अवार्डको राशीको अक्षयकोष बनाई व्याजबाट आउने रकमले नेपालमा सूर्ति नियन्त्रण गर्ने अभियानमा क्रियाशिल व्यक्ति तथा संस्था गरी बार्षिक रुपमा ६ जनालाई अवार्ड गर्ने बताइएको थियो ।

तर त्यसको कार्यविधि बनेर पास हुन झण्डै २ बर्ष लाग्यो । विसं २०७३ मा तत्कालिन स्वास्थ्य मन्त्री रामजनम चौधरीले स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार अक्षय कोष (सञ्चालन) कार्यविधि २०७३ स्वीकृत गरेपछि पुरस्कार दिने बाटो खुलेको थियो ।

तर, त्यसपछिका दुई वर्ष पनि पुरस्कार वितरण नगरी सकिएको थियो ।

विसं २०७६ जेठ १७ गते पहिलो पटक पुरस्कार वितरण गरेको मन्त्रालयले दोस्रो पटक पुरस्कार वितरण गर्न २०८० साल कुर्नु परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *