नियमित खोप लगाउन छुटेका बालबालिकालाई १५ र ३१ बैशाखमा दिईने

काठमाडौँ, ९ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई आगामी १५ र ३१ बैशाखमा खोप लगाउने भएको छ ।
विश्व खोप सप्ताहको सन्दर्भ पारेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले छुटेका बालबालिकाहरुलाई खोप दिन लागेको हो ।
त्यसो त नेपालले बैशाख महिनालाई पूर्ण खोप महिनाको रुपमा मनाउदै आउने गरेको छ ।
‘विश्व खोप सप्ताह र पूर्ण खोप महिनाको सन्दर्भ पारेर हामीले खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिका लागि वृहत खोज र खोप अभियान सञ्चालन गर्न लागेका हौँ,’ महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा अभियान गौतमले भने । उनका अनुसार छुटेको खोप यी दुई दिनमा स्थानीय स्वास्थ्य संस्था खोप केन्द्रमा उपलव्ध हुनेछ ।
‘वडाका स्वास्थ्य चौकीहरु ले नियमित खोप लगाउने दिन निश्चत तोकेका हुन्छन् । तर यी दुई दिन खोप छुटेका बालबालिकाहरुले छुटेका खोपहरु लगाउन सक्नेछन्,’ उनले भने ।
अघिल्ला आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा नियमित खोप कभरेज बढेपनि सबै तहमा एकरुपता, ड्रपआउट अर्थात् आधा मात्रै खोप लगाउनेको सङ्ख्या न्यूनीकरण, खोप खेर जाने सङ्ख्या न्यूनीकरण, विनियोजित क्रियाकलापको प्रभावकारी संचालन हुन जरुरी भएको उनले बताए ।
महाशाखाका खोप अधिकृत भरत भण्डारी पूर्ण खोपको कार्यान्वयन लागि फरकफरक किसिमले काम गरिरहेको बताउँछन्।
‘हामीले अहिले विद्यालय भर्ना कार्यक्रममा खोप कार्ड देखाउनुपर्ने र त्यो भए नभएको अनुगमन गर्ने, सामाजिक सञ्जालहरुमा सूचना तथा सबै जिल्लाहरुमा एफएम, रेडियोबाट सूचना प्रशारण गरिरहेको, समुदायमा अन्तरक्रिया, बच्चाको सुची संकलन लगायतका काम गरिरहेका छौँ,’ उनले भने।
बालबालिकाहरुले पूर्ण खोप नलगाए कोही पनि सुरक्षित नहुने भएकाले यो अभियान सुरु भएको उनले बताए।
बालबालिकाहरु आफैं खोप कार्यक्रममा सहभागी हुन नसक्ने हुँदा परिवारले पूर्ण खोपको महत्व बुझेर यो अभियानमा सहभागी हुन महाशाखाले आग्रह गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




