‘सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहु पक्षीय सहकार्यको आवश्यक’

चितवन, २९ चैत । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहु पक्षीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोष सचिवालयको सहयोगमा स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार चितवनमा आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी’ अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । यसबाट लाग्ने रोगको उपचारका लागि मात्रै बार्षिक ४१ अर्व बढी खर्च हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकेमा मात्रै पनि यसबाट हुने हुने ठूलो जनधनको क्षतिबाट बच्न सकिने उनीहरुको धारणा थियो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सुर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास भइरहे पनि यसको प्रभावकारी नतिजा आउन नसकेको बताइन् । ‘सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न पर्छ भन्छौँ, त्यसका लागि कानून पनि बनाउँछौँ तर कार्यान्वयन हुन सकिरहेको छैन्,’ उनले अगाडी थपिन् ,’यसका लागि सबै पक्ष एक जुट भएर अघि बढ्नु पर्ने छ ।’
दाहालले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने आफ्नो महानगरको प्राथमिकतामा रहेको भन्दै यसविरुद्ध प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष एवम् क्यान्सर रोग विशेषज्ञ डा. अनिलबिक्रम कार्कीले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए ।
उनले २० मिनेट मात्रै धुम्रपान नगर्दापनि उच्च रक्तचाप, पल्स रेट र शरीरिको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने भन्दै आठ घण्टा धुम्रपान नगर्दा ९३.७५ प्रतिशत निकोटिन लेभल घट्ने उनले जानकारी दिए । उनले दुई हप्ता धुम्रपान गर्दा रक्तसञ्चार र दाँतमा गमको मात्रा सामान्य अवस्थामा आउने भन्दै डा. कार्कीले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । चुरोटको धुँवामा ४ हजार प्रकारका केमिकल हुने बताउँदै यसमध्ये ५० वटाले क्यान्सर बनाउने जानकारी दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए । सुर्तीजन्य पदार्थ नियमन गर्ने एन बनेपनि कार्यान्वयन गर्न जटिल हुनेगरेको बताए । सुर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकाससन्मुख मुलुकका नागरिक रहेको जानकारी दिए । सन् २०२० मा भएका अध्ययन हरुले २२.३ प्रतिशत विश्वका मानिसले सुर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए । त्यसमध्ये ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला रहेको उनले उल्लेख गरे ।
नेपालमा सुर्तीजन्य पदार्थ दैनिक २४.१ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको भन्दै उनले त्यसमध्ये ४०.१ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेको उनले जानकारी दिए । यस्तै २८.९ प्रतिशत मानिषले (धुम्रपान वा धुँवारहित) सेवन गर्ने गरेको तथ्य सन् २०१९ मा भएको स्टेप सर्वेले देखाएको उनले जानकारी दिए । नेपालमा धुम्रपान गर्ने १७.१ प्रतिशत मध्ये २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला रहेका छन् । विद्युतीय चुरोट प्रतियोग गर्नेहरु बढ्दै गएको भन्दै उनले अहिले सो संख्या ०.८ प्रतिशत रहेको जानकारी दिए । सुर्तीजन्य पदार्थको सेवनका कारण मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्ने उनले बताए ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थ कर र मूल्य बढाउन सके पनि केही हदसम्म नियन्त्रण गर्न सकिने बताए । दक्षिण एशियामा सबैभन्दा सस्तो सुर्तीजन्य पदार्थ नेपालमा रहेको जानकारी दिदै यसको मुल्य बढाउनुपर्ने बताए । साथै उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिए ।
मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वाथ्य पत्रकार मञ्चले सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न गर्न बनेको एन कार्यान्वयन गराउन सबै निकायलाई सचेत गराउने बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




