अब कोशी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने

276
Shares

काठमाडौँ, २९ चैत । कोशी अस्पताल बिराटनगरमा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा कोशीमा मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ हुने भएको हो ।

मंगलबार केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रबिनराज सिंहबीच प्रत्यारोपण सेवा तथा डायलासिस सेवा विस्तार गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा प्रत्यारोपण सेवा सुरु गर्नका लागि लागि जनशक्तिको तालीम, फेलोसिप लगायतका कार्यक्रमहरुको लागि केन्द्रले व्यवस्था मिलाउने, कोशी सहित प्रदेशका अरु अस्पतालमा डायलासिस सेवा विस्तारका लागि समेत सहयोग गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन सहकार्य गर्ने उल्लेख छ ।

यसअघि प्रत्यारोपण केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पतालमा यसैगरी सम्झौँता गरेर प्रत्यारोपण सेवा प्रारम्भ गरेको छ । यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्यारोपणका लागि सम्झौँता भइसकेको छ ।

नेपालमा ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो । जसमा मधुमेह, उच्च रक्तचापका कारणले हुने मृत्यु र मिर्गौला रोगका साथै क्यान्सर र विभिन्न चोटपटक हुने गर्दछन् ।

देशमा बर्षेनी करीव ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको र एक हजार जनाको कलेजो फेल हुने गरेको अनुमान छ । तर फेल हुनेको तुलनामा प्रत्यारोपण सेवा कम भएकोले प्रत्यारोपण केन्द्रले देशका सातवटै प्रदेशका अस्पतालसंग सहकार्य गर्दै प्रत्यारोपण सेवा विस्तार गर्ने अभियान चलाएको निर्देशक डा पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *