नेपालमा फैलिएको कोरोनामा ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीसी.१.१६’ भएको पुष्टि

काठमाडौं, २१ चैत । नेपामला हालैका दिनमा फैलिदै गएको कोरोना संक्रमणमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । यो भेरियन्ट अहिले छिमेकी देश भारतमा पनि देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ भेटिएको हो ।
कोभिड–१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्धेश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनामा परीक्षण गर्दा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६ १० जनामा, एक्बीबी १.५ तीन जनामा, एक्बीबी २.६ एकजनामा र एक्बीएफ एक जनामा पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।
उसले छिमेकी देशमा पनि उक्त भाइरस फैलिरहेको हुँदा मन्त्रालयले सिमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुको सिमानाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशिल हुन समेत मन्त्रालयले आग्रह गरेको छ ।
साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डाको पालन गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेका छन् । विज्ञप्तीमा रुघा, खोकी र ज्वरो जस्ता लक्षण कोरोना संक्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सूझाव छ । अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहान नबनाउन समेत अनुरोध गरिएको छ ।
पछिल्लो सयम कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । २४ घण्टामा ११ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा पुष्टि भएको छ । सोही समयमा १६ जना संक्रमणमुक्त भएका छन् । २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या २२७ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

