स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा

स्वास्थ्य मन्त्री बन्नेमा तीन जनाको चर्चा !

 

काठमाडौँ, १६ चैत ।  सत्ता गठबन्धन दलहरुले मन्त्रालयको भागवन्डा टुंग्याएका छन् । जस अनुसार नेपाली कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित ८ मन्त्रालय पाउने भएको छ । नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ ।

स्रोतका अनुसार कांग्रेसले स्वास्थ्य सहित अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।

त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

स्वास्थ्य मन्त्री बन्ने प्रतिस्पर्धामा कांग्रेसबाट तीन जना

यता कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परेपछि मन्त्री को होला भन्ने विभिन्न अनुमान चल्न थालेको छ । स्रोतका अनुसार यतिवेला स्वास्थ्य मन्त्री बन्न तीन जना सांसद प्रतिस्पर्धामा देखिएका छन् ।

सांसद सांसद दीपक खड्का, मोहन बस्नेत र प्रदीप पौडेल स्वास्थ्य मन्त्रीको रुपमा जान चाहेको बुझिएको छ । तर पार्टीले मन्त्री छान्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सुरुमै नाम सार्वजनिक भागवण्डा मिलाउन पनि कठिनाई हुने भएकोले अन्तिममा मात्रै मन्त्रीको नाम र मन्त्रालय सार्वजनिक गर्ने भनेको एक नेताले बताए ।

‘यी नामहरु मन्त्री बन्ने चर्चामा रहेको त छ तर अन्तिममा मन्त्री नै अरु आउन पनि सक्छन् वा मन्त्री बनिहाले पनि स्वास्थ्य नहुन पनि सक्छ । राजनीतिक भेटघाट र लविङ तथा भागवण्डाले अहिल्यै यसै भन्न सकिन्न,’ देउवा निकट एक नेताले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *