महिलाले प्रयोग गर्ने संगिनी सुई बोकालाई लगाइदिन थालेपछि…..
गुल्मी, १४ चैत । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुई बोका, पाठामा लगाएको पाइएको छ।
गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका पाठालाई संगिनी सुई लगाईदिएका हुन् । बोकामा सुई लगाउँदा हर्मोनमा परिवर्तन भई मासु बढ्ने गाउँलेको विश्वास रहेको बताइएको छ ।
यता महिलालाई लगाउने संगिनी सुई बोका पाठामा लगाउने गरेको थाहा पाएपछि गाउँपालिकाले रोक्न निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले सूचना जारी गर्दै मानव स्वास्थ्यमा दीर्घकालिन असर पर्न सक्ने भन्दै सो कार्य रोक्न निर्देशन दिएका छन् ।
आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुई लगाउन तत्काल रोक्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ।