इलाममा कोरोनाविरुद्धको बुस्टर डोज खोप दिईँदै

48
Shares

इलाम, २ चैत । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ ।

यही चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमित खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए। उनले १२ वर्षमाथिका सबैलाई खोप दिइने बताए । गर्भवती, दीर्घ रोगीलगायतले समेत यो खोप लगाउन मिल्ने शाक्यको भनाइ छ ।

पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोज लगाइनेछ। नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो। पहिलो मात्रा लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने छ। पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका अग्रपङ्तीमा खटिने सबैलाई खोप दिइने शाक्यले बताए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गङ्गाधर पण्डितले जानकारी दिए। जिल्लामा १२ वर्षमाथिका ६३ हजार चार सय ९३ नागरिकलाई पहिलो बुस्टर डोज लगाउने लक्ष्य छ ।

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोप लगाउनसमेत नागरिले वास्ता नगरेको पाइएको छ। दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको छ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर खोप दिइने छ। इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी दुई सय २५ स्थानबाट खोपको व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले खोप लगाउन सबैलाई आह्वान गरिएको छ। इलाममा खोपको पहिलो मात्रा लगाउने सङ्ख्या एक लाख ९९ हजार तीन सय ८८ जना रहेको छ। खोपको दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक लाख ८४ हजार आठ सय १४ जना छ। पहिलो बुस्टर डोज लगाउनेको सङ्ख्या एक लाख २१ हजार तीन सय २१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *