स्याङ्जामा बृहत नि:शुल्क आँखा शिविर सम्पन्न, ९४ जनाले गराए मोतिविन्दुको शल्यक्रिया

780
Shares

स्याङ्जा, ८ फागुन । स्याङ्जाको पुतलीबजारमा बृहत निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गैरआवासी नेपाली संघ युकेको मुख्य आर्थिक तथा प्राविधिक सहयोगमा पुतलीबजार नगरपालिकाले आयोजना गरेको उक्त शिविरमा बीएम टीपीवी फाउन्डेशन, हिमालय आँखा अस्पताल पोखरा, रोटरी क्लब अफ् हिमालय पाटनको समेत आवद्धता रहेको थियो ।

शिविर गत विहीबार देखि आइतबार (हिजो) सम्म चलेको थियो । सो शिविरमा ९४ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो । जसमध्ये ४ जनाको दुबै आँखाको शल्यक्रिया गरिएको शिविरको नेतृत्व गरेका एनआरएनए युकेका डा. विशाल गुरुङले बताए । उनका अनुसार ९२२ जनालाई निशुल्क चस्मा समेत वितरण गरिएको थियो ।
शल्यक्रिया शिविर बस्नु अघि नगरपालिकाका १४ वटै वडामा आँखाको स्क्रिनिङ गरिएको थियो । त्यसमा कुल ३ हजार ९२८ जनाले आँखा जाँच गराएका थिए । डा. गुरुङले त्यसरी जाँच गर्दा १५३ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको भए पनि शल्यक्रियामा सबै जना सहभागि नभएको स्पष्ट पारे ।

भुपु सैनिक आवासीय मावि देवानचोक स्याङ्जामा भएको सो शिविरमा उपचार गरेर बास बस्नु पर्ने आँखाका बिरामीलाई तमु समाजले खाने बस्ने व्यवस्था गरेको थियो । जिल्ला अस्पताल स्याङ्जाले पनि उपचारका लागि माइनर ओटीको व्यवस्था मिलाएर शिविरलाई सहयोग गरेको डा गुरुङले बताए ।

बीएम टीपीबी फाउन्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले सर्जरी क्याम्प अघिको आँखा स्क्रिनिङ कार्यक्रममा आफ्नो संस्थाले सहयोग गरेको बताए । ‘वीएम टीपीवी फाउन्डेशन आइकेयर सेन्टरको तर्फबाट हामीले आँखा जाँच (स्क्रिनिङ) कार्यक्रममा सहयोग गर्‍यौँ ।अरु केही संस्थाहरुले सहयोग गर्‍यो र यति ठूलो शिविर सफलताका साथ सम्पन्न भयो,’ डा श्रेष्ठले भने ।

उनले विगत ६ वर्ष देखि वीएम टीपीवी फाउन्डेशन आइकेयर सेन्टरबाट आँखाको स्क्रिनिङ, आँखाको डायविटिज रेटिनोप्याथी सम्वन्धी अभिमुखीकरण गर्दै आएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *