बिरामीको लागि चाहिने रगत पूर्ण रुपमा निशुल्क गर्ने सरकारको आश्वासन

काठमाडौँ, १५ माघ । सरकारले रक्तदाताबाट निशुल्क रुपमा संकलित हुने रगत बिरामीलाई पनि पूर्ण रुपमा निशुल्क उपलव्ध गराउने आश्वासन दिएको छ ।

अहिलेसम्म रक्तदाताबाट निशुल्क रुपमा उपलव्ध भए पनि परीक्षण तथा प्याकिङ खर्च भन्दै व्लड बैंक तथा अस्पतालहरुले बिरामीसंग शुल्क लिने गरेका छन् ।

१७औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदाताबाट निशुल्क प्राप्त हुने रगत बिरामीसंग पुग्दासम्म पनि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था मिलाउने आश्वासन दिईन् । उनले त्यसका लागि आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने समेत बताईन् ।

त्यसअघि समाजका उपाध्यक्ष ध्रुव थपलियाले बार्षिक १५ करोड रुपैयाँ राज्यले छुट्याउने हो भने देशभर रगत पूर्ण रुपमा निशुल्क हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले रक्तदानबारे सानै देखि जागरुक बनाउन विद्यालय तहको पाठ्यपुस्तकमा कम्तिमा एक पेज भए पनि पढाई हुने व्यवस्था गर्न समेत माग गरे ।

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रगत र रक्त–तत्व उपलब्ध गराउनु राज्यको दायित्व हो भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले रगत दान गर्दा रक्तदाताले पैसा नलिने गरेको भन्दै उनले परीक्षणका लागि चाहिने आवश्यक शुल्क व्लड बैंकलाई सरकारले बेहोर्नुपर्ने बताए ।
दिवसको अवसरमा रक्तदान समेत भएको थियो । ३४ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *