स्वास्थ्यमा अहिले तीन दलको दावी : अन्तिममा गएर अरु नै हुने हो कि हावी ?
काठमाडौँ, १४ पुस । बालुवाटारमा आज बोलाइएको सत्ता गठबन्धनको बैठकमा सरकारका नीति तथा कार्यक्रमसंगै मन्त्रालयको भागवण्डाको बारेमा समेत छलफल हुने बताइएको छ । मन्त्रालयको भागवण्डाको विषय उठ्दा पार्टीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चर्चा यसै पनि चल्ने नै भयो ।
अहिलेसम्म स्वास्थ्य मन्त्रालय नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको दावी रहेको देखिएको छ । शीर्ष नेताहरुले यस बिषयमा कुरा नखोलेपनि दोस्रो तहका नेताहरुबाट स्वास्थ्यमा दावी प्रस्तुत भएको हो । तर सरकारमा अरु केही दल समेत मिसिने सम्भावना रहेकोले अहिले चर्चामा आएका यी तीन दल बाहेक अरु दलको भागमा पर्ने हो कि भन्ने पनि आशंका उब्जिएको छ ।
नेकपा एमालेका सचिव समेत रहेका पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई स्वास्थ्यमा आफ्नो पार्टीको दावी रहेको बताउँछन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल र स्वास्थ्य राम्ररी बुझेको र पार्टीको प्राथमिकतामा पनि परेकोले स्वास्थ्य हामीले नै पाउनु पर्छ भनेका छौँ । हामीले पाउने मन्त्रालयको सूचीमा स्वास्थ्य हाम्रो हुनुपर्छ भन्ने जोडदार माग छ । उनले भने ।
माओवादीका स्वास्थ्य विभागका एक सदस्यले पनि स्वास्थ्य आफ्नो पार्टीको दावी रहेको बताए । पार्टीमा भएको अनौपचारिक छलफलमा स्वास्थ्य हाम्रो पार्टीले नै राख्ने भन्ने कुरा भएको छ । ती नेताले भने । उनले आफ्नो पार्टीले नपाए ठूलो दलको हैसियतले एमालेले राख्नु पर्ने सुझाव दिएको समेत बताए ।
यता स्वतन्त्र पार्टीले पनि स्वास्थ्य आफूहरुले पाउनु पर्ने बताएको छ । मन्त्रालय मात्रै होइन स्वतन्त्र पार्टीले स्वास्थ्य पाएमा डा चन्दा कार्की वा डा तोसिमा कार्की मध्ये एक जना सांसद मन्त्री हुने भनेर समेत चर्चा चलेको छ । सामाजिक सञ्जालमा पनि कार्कीद्धय मध्ये एक जना स्वास्थ्य मन्त्री हुने व्यापक लविङ उठेको छ ।
तर रोजेको शक्तिशाली गृह मन्त्रालय आफैले लिएका स्वतन्त्रका सभापति रवि लामिछानेले अरु मन्त्रालयमा फ्ेक्जीवल बन्ने संकेत गरेको माओवादीका ती नेताले बताए ।
भाग लिने बेलामा अरु दल पो आउने हो कि ?
अहिले चार दल सरकारमा गए पनि जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सर्त सहित सरकारमा जान सक्ने बताएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सहभागी गराउन एमाले र माओवादीका शीर्ष नेताहरु लागि परेका छन् ।
यदि यी दलहरु सरकारमा सहभागी भएमा अहिले बाढ्न बाँकी रहेका मन्त्रालयको भागवण्डा दावी गरेका दलहरु भन्दा बाहिर अर्थात नयाँ दलमा पनि जान सक्ने बताइएको छ ।
‘सहमतिमा चल्ने सरकार भएकोले प्याकेजमा सहमति हुँदा यता उता हुन पनि सक्छ,’ माओवादीका ती नेताले भने ।
सम्पर्क इमेल : [email protected]