समस्याका गाँठो फुकाउन नयाँ मन्त्री पर्खदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १३ पुस । नयाँ सरकारमा स्वास्थ्य मन्त्रालय सम्हाल्न को आउँछ अझै टुंगो लागेको छैन् । तर मन्त्रालयले भने नयाँ स्वास्थ्य मन्त्रीका लागि केही गर्नै पर्ने काम छुट्याएर राखिदिई सकेको छ । हिजो र आज मन्त्रालयमा बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमिति (प्रि एमड्याक)को बैठकले स्वास्थ्य मन्त्रीले गर्नु पर्ने काम (समस्याको पोको) छुट्याएर राखिदिएको हो ।

अव आउने नयाँ स्वास्थ्य मन्त्रीले प्रि एमड्याक बैठकमा उठेका समस्याहरुको पोको फुकाउँदै सके आफ्नो तहबाट र नभए मन्त्रिपरिषद्मा लगेर गर्नुपर्ने हुन्छ ।

‘खासमा यो आर्थिक वर्षको पहिलो चौमासिक छलफल हो । हामीले लिएका लक्ष्य कति पुरा भए भएनन् । अगाडी बढ्न के कस्ता समस्या र चुनौती आईपरे र कसरी कहाँबाट समाधान गर्ने भन्ने बारेमा छलफल हो । यसमा केही समस्याहरु प्रस्तुत भएका छन्, ती कतिपय समस्याहरु मन्त्रीस्तरीय निर्णयबाट समाधान होलान् । केही मन्त्रिपरिषदमै लैजानु पर्ने पनि हुनसक्छ होला । छलफलबाट समाधान गर्न नसकिएका केही कुराहरु मन्त्री ज्यू आईसकेपछि बस्ने एमड्याकको बैठकमा पेश गर्ने तयारीमा छौँ,’ मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले भने ।

प्रि एमड्याक बैठकका मंगलबार अस्पताल विकास समिति, स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थय अन्तरगर्तका संस्थाहरुले प्रगति तथा समस्या प्रस्तुत गरेका थिए । बुधबार (आज) भने मन्त्रालय अन्तरगतका स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड लगायतका विभिन्न कार्यालयको प्रस्तुति थियो ।

बैठकमा बढी जसो स्वास्थ्य बीमा सञ्चालनका सन्दर्भमा देखिएका समस्याहरुको बारेमा उठेको थियो । अस्पतालहरुमा दरबन्दीका कुरा, नयाँ ओएनएम गर्ने कुराहरुको बारेमा समेत छलफल भएको डा पौडेलले बताए ।

प्रिएमड्याक बैठक स्वास्थ्य सचिव देवकुमारी गुरागाईँको अध्यक्षतामा बसेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *