‘ट्रान्सफ्याट नभएको तेल–घिउ प्रयोग गरौं, हृदयघात हुनबाट बचौं’

– डा.  प्रेमराज वैद्य, सिनियर काडियोभास्कुलर सर्जन

नेपालमा पनि हानिकारक तेल तथा तेलजन्य परिकारका कारण हृदयघात, मस्तिष्कघात, उच्चरक्तचाप, मधुमेह, मोटोपना र अन्य रोगहरुको समस्या कम उमेर देखि नै देखिन थालेको छ । रोग देखिन थालेको मात्रै होइन हिजो आज त्यस्ता रोगबाट कम उमेरमै मृत्यु हुनेको संख्या समेत बढ्न थालेको छ ।

नेपालीहरुले प्रयोग गर्ने तेलकै कारण अस्पताल र क्लिनिकहरुमा मुटु र मिर्गौला सम्वन्धि समस्या लिएर आउने बिरामीको संख्या वर्षेनी बढेको छ ।

यसको मुख्य कारण मानिसहरुले दैनिक उपभोग गरिने हानिकारक चिल्लोयुक्त खाना र यसको अधिक प्रयोग तथा शारीरिक व्यायामको कमि मानिदै आएको थियो । तर, अहिले चिल्लोयुक्त खानामा पनि ट्रान्सफ्याटयुक्त खानाको अधिक उपभोगले हृदयघात, उच्च रक्तचाप, मधुमेह, मोटोपन र मस्तिष्कघात बढी हुने गरेको तथ्य बाहिर आएको छ । यसै कारण खानाहरु ट्रान्सफ्याट रहित हुनुपर्ने भनेर नेपालमा पनि अभियान शुरु भई सकेको छ ।

विश्व स्वास्थ्य संघको पहलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानले अभियानको शुरुवात गरिसकेको छ ।

ट्रान्सफ्याट बर्षेनी ५ लाखको मृत्यु

नयाँ अध्ययन् अनुसार ट्रान्सफ्याटयुक्त खानाको प्रयोगका कारण विश्वमा वर्षेनी ५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

विश्व बजारमा उपलब्ध गराइने खाद्य वस्तुलाई कारखानामा उत्पादन गरिएको ट्रान्सफ्याटमुक्त बनाई त्यसमा स्वस्थकर तेल उपलब्ध गराउन सकिएमा प्रतिवर्ष ५ लाख मानिसको जीवन बचाउन सकिने तथ्य अघि सार्दै विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खाद्य वस्तुलाई औद्योगिक रुपमा उत्पादन गरिएको ट्रान्सफ्याटमुक्त गर्ने लक्ष्य नै तय गरेको छ ।

संगठनका अनुसार औद्योगिक रुपमा उत्पादन गरिएको ट्रान्सफ्याटको एउटा उदाहरण बोतल बन्द तेल हो, जुन हामीहरू मध्ये धेरैले सहज रुपमा प्रयोग गरिरहेका छौँ र अत्यन्त हानिकारक छ ।

ट्रान्सफ्याट भनेको के हो ?
ट्रान्सफ्याटलाई हानिकारक चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट र कृत्रिम ट्रान्सफ्याट ।

प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानी हुँदैन । कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानी पुर्‍याउँछ । यो कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।

फ्याट अर्थात फ्याटि एसिड दुई किसिमका हुन्छन् – स्याचुरेटेड र अनस्याचुरेटेड । तेललाई जति धेरै तताईन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै स्याचुरेटेड फ्याट हुन्छ ।

अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड । मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट । यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक छ ।

ट्रान्सफ्याट मिसिएका खाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पुर्‍याउने गरेको छ । यसले मानिसको मृत्युदर बढाउन थालेको समेत विभिन्न अनुसन्धानमा देखिएको छ । त्यसकारण ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।

पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ ।

वनस्पति घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानव स्वास्थ्यका लागि निकै खराब हो । यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पु र्‍याउँछ । यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातनिकै कम हुन्छ ।

रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।

ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल  चाहिँ बढाउँछ ।

अहिलेसम्म पत्ता लागे अनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ । धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक (मस्तिष्क घात) पनि हुन सक्छ र हृदयघात पनि हुन सक्छ ।

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाहिँ होइन, पूरा तेलको २ प्रतिशत भन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ ।

कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता ट्रान्सफ्याटयुक्ततेल – घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवा लगायत अन्य तयारी जंक फूडहरु नखानु नैराम्रो हो ।

कम उमेरमै हृदय घात बढ्नुको कारण के हो ?

अहिले नेपालमा पनि ४० वर्षभन्दा कम उमेरका मानिसको हृदयघातबाट मृत्यु भएको खबर दैनिक आइरहेको देखिन्छ । ४० वर्ष नाघेपछि हृदयघातको खतरा प्रायः सबैमा हुन्छ । उमेरकै कारणले बढ्दै जाने यो खतरा रोक्न सकिन्न । पुरुषलाई यो खतरा बढी हुन्छ ।

महिलामा महिनावारी नरोकिएसम्म यस्तो खतरा कम हुन्छ । त्यसपछि पुरुषलाई जति नै हुन्छ । वंशाणुगत खतरा पनि हुन्छ नै । यसलाई रोक्न सकिन्न । तर ट्रान्सफ्याटको कारण हुने हृदयघातलाई रोक्न सकिन्छ ।

खराब कोलेस्ट्रोलवृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याटलाई नियन्त्रणमा राख्नुपर्छ । मानिसलाई कोलेस्ट्रोल नभई पनि नहुने वस्तु हो । हामीलाई फाइदा गर्ने कोलेस्ट्रोल शरीरमा धेरै हुनुपर्छ र हानी गर्ने कोलेस्ट्रोल कम हुनुपर्छ ।

शरीरमा बन्ने सबै हर्मोनहरु कोलेस्ट्रोलकै कारण बन्ने हुन्छ । घामको किरण मानिसको छालामा परेपछि त्यही कोलेस्ट्रोलबाट भिटामिन ‘डी’ बन्नेगर्छ । यदि हाम्रो शरीरमा खराब कोलेस्ट्रोल धेरै भयो भने धमनीहरुमा भित्र तिर जम्छ र यसैका कारणले कम उमेरकाहरुमा हृदयघात, मस्तिष्कघात हुन जान्छ ।

हृदयघात ४० वर्ष नाघेका मानिसहरुलाई मात्र हुन्छ भन्ने परम्परागत धारणालाई विश्वस्वास्थ्य संघलगायत मुटुसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरुले मान्दै आएकोमा ४० वर्षभन्दा कम उमेरका युवाहरुमा पनि हृदयघात हुने क्रम बढेपछि विभिन्न अनुसन्धानहरु शुरु भए । त्यसमध्ये एउटा अनुसन्धानमा चिल्लो पदार्थमा पाइने ट्रान्सफ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात वृद्धि हुन थालेको तथ्य सन् १९९३ मा सार्वजनिक भयो । तर यसलाई २००१ सम्म डेनमार्क बाहेक संसारका कुनै पनि मुलुकले पत्याएनन् । विश्व स्वास्थ्य संगठनले पनि महत्व दिएन ।

यस समयमा विश्वबजारमा मानव निर्मित ट्रान्सफ्याटयुक्त वनस्पति घिउ (डाल्डा घिउ) र तेल तथा यस्ता घिउ–तेल प्रयोग गरिएका तयारी खाना (जंक फूड) छ्याप छ्याप्ती भएका थिए । यस्ता जंक फूड खानुलाई आधुनिकतासँग जोडेर हेर्ने गरिन्थ्यो ।

जंक फूड धेरै उत्पादन गर्न थालिएको र उपभोक्ता आफैँले पनि अधिक मात्रामा प्रयोग गर्न थालेकाले कारखानामा उत्पादित ट्रान्सफ्याटयुक्त यस्ता तेल – घिउमा प्रतिबन्ध लगाउने कुरालाई कसैले महत्व दिएको थिएन ।तर डेनमार्कले भने यस कुरालाई गम्भीर रुपमा लियो र ट्रान्सफ्याटयुक्त तेल – घिउ उत्पादन एवं प्रयोगमा प्रतिबन्ध लगायो । ट्रान्सफ्याटयुक्त तेल उत्पादन गर्ने सबै कारखाना बन्द गर्यो । लगातार ५ वर्ष प्रतिबन्ध लगाएपछि यसबारेमा विस्तृत अध्ययन भयो । त्यो अध्ययन अनुसारसन् २००१ अघि ४० वर्षभन्दा कम उमेरका युवाहरु हृदयघात भएर जति संख्यामा मर्थे त्यसमा ५० प्रतिशतले कमी भएको पाइयो ।

डेनमार्कले यो प्रतिवेदन विश्वस्वास्थ्य संगठनमा पनि बुझायो । त्यसपछि चाहिँ विश्व स्वास्थ्य संगठनले  यसलाई गम्भीर रुपमा लियो । विश्व स्वास्थ्य संघले सन् २००१ बाट ट्रान्सफ्याटयुक्त तेल उत्पादनमा प्रतिबन्ध लगाउने विषयमा संसारभर अभियान चलाउनु पर्छ भनेर बहस अघि बढायो । त्यस बेलासम्म आमजनता मात्र होइन, अधिकांश चिकित्सकले नै ट्रान्सफ्याटको गम्भीर हानिबारे बुझेकै थिएनन् ।

त्यसैले यो विषयमा बुझाउनका लागि विश्व स्वास्थ्य संगठनले अभियान शुरु गर्यो । हाल अमेरिका तथा युरोपका ४० भन्दा बढी मुलुकले ट्रान्सफ्याटलाई २ प्रतिशत भन्दा कम मात्र प्रयोग गर्न पाउने गरी र पार्सियली हाइड्रोजेनेटेड आयललाई प्रतिबन्ध नै लगाइसकेका छन् । तर विकासोन्मुख देशहरुमा यसले त्यति महत्वपाउन सकेन । यस कुरालाई समेत मध्यनजरमा राखी सन् २०१८ मा विश्व स्वास्थ्यसंघले सन् २०२३ सम्ममा विश्वबजारमा उपलब्ध गराइने खानाहरु कारखानामा उत्पादित ट्रान्सफ्याटयुक्त तेल रहित बनाउने विस्तृत योजना सार्वजनिक गर्यो ।

यस्तो ट्रान्सफ्याटयुक्त तेलको विकल्पमा अरु नै सुरक्षित तेल प्रयोग गराउने उद्देश्य राखी विश्व स्वास्थ्य संघले यसका लागि ६ वटा रणनीतिक कार्यहरु पनि तय गरी कार्यक्रम अघि बढायो ।

यसै सन्दर्भमा विश्व स्वास्थ्य संघको भाइटल स्ट्राटेजी नामक संस्थाले नेपालमा पनि यस किसिमको अभियान शुरु गर्न नेपाल हृदयरोग निवारण प्रतिष्ठानलाई सहयोग गरेको छ । ट्रान्सफ्याट सम्बन्धी नीति–नियम बनाउन पैरवी गर्नका लागि यो सहयोग उपलब्ध गराएको हो ।

प्रतिष्ठानले यससम्बन्धी कार्य गर्नका लागि एउटा टिम नै बनाएर ट्रान्सफ्याट इलिमिनेसन पोलिसी एडभोकेसि प्रोजेक्ट अघि बढाएको छ । यस सम्बन्धी नीति–नियम स्वास्थ्य मन्त्रालयमार्फत बनाउने भएपनि यससँग सम्बन्धित व्यक्ति र पक्षहरुसँग समन्वय गरी ट्रान्सफ्याट सम्बन्धी जानकारी दिन यो प्रोजेक्टले काम आरम्भ गरिसकेको छ ।

यसको मुख्य लक्ष्य भनेको २ प्रतिशत भन्दा बढी ट्रान्सफ्याट मिसिएका तेल – घिउको उत्पादन, खरिद–बिक्रीमा प्रतिबन्ध लगाउनका लागि नियम बनाउन पहल गर्ने हो । किनभने नेपालमा अहिलेसम्म यससम्बन्धी कुनै किसिमको नीति–नियम बनेको छैन । यसै सिलसिलामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फुटपाथदेखि फाइभ स्टारहोटलमा तयार गरिने १ सय ९० वटा खाद्य परिकारको छनौट गरी परीक्षण गर्दै छ ।

उपभोक्ताले बढी प्रयोग गर्ने कुन–कुन खाद्य परिकारहरुमा ट्रान्सफ्याट धेरै छभन्ने पत्ता लगाउने यसको उद्देश्य रहेको छ । २ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट भएका खाद्य वस्तुहरूमा प्रतिबन्ध नै लगाउने लक्ष्यका साथ यो अनुसन्धान गरिँदैछ ।

जंक फूडमा किन धेरै ट्रान्सफ्याट प्रयोग गरिन्छ ?
हाइड्रोजन मिश्रित ट्रान्सफ्याटयुक्त तेल हतपत नबिग्रिने भएकोले खाना बनाउन प्रयोगगर्दा खाना लामो समय सुरक्षित रुपमा राख्न सकिन्छ । त्यसकारण धेरै रेस्टुराँहरु, फुटपाथे खाद्य पसल, पार्टी प्यालेस, होटलहरुले हाइड्रोजन मिश्रित घिउ–तेल राखेर परिकारहरु तयार गर्छन् ।

यस्तै गरीतयारी खानाहरु जस्तो– बिस्कुट, कुकिज, केक, पप, दुनोट, बिस्कुट, रोलहरु, दालमोठ, चाउचाउ, आलुचिप्स, चिजबल, फ्रेन्च फ्राई, बर्गर, चाउमिन, माइक्रोओभनमा बनाइएको पपकर्न, फ्रोजन पिज्जा लगायत तारेका अन्य भेज परिकारहरु, तारेको चिकेन–मटन, कफीमा राखिने तयारी क्रिम आदिमा पनि प्रशस्तमात्रामा ट्रान्सफ्याटयुक्त तेल राखिएको हुन्छ ।

यस्ता खाना खानै नहुने चाहिँ होइन, अलि – अलि खान हुन्छ, तर हाइड्रोजेनेसन नगरिएको शुद्ध एवंप्राकृतिक तेलमा पकाइएको खानामा ट्रान्सफ्याटको मात्रा धेरै कम हुन्छ र अति उत्तम हुन्छ । तर, हाइड्रोजेनस गरेको तेल वा डाल्डा घिउमा पकाएको खानामा ट्रान्सफ्याट धेरै हुन्छ । त्यसैले घरैमा शुद्ध तेलमा बनाइएको खाना खानु उपयुक्त हुन्छ ।

हाइड्रोजन मिसाएर बनाइएको वनस्पति तेल वा घिउ सस्तो हुनुका साथै परिकार पनि स्वादिष्ट हुन्छ । यस्तो परिकार दीर्घकालसम्म सुरक्षित राख्न पनि सकिन्छ ।

मुख्य यी तीनवटा कारणले गर्दा तयारी खाना अर्थात् जंक फूड र होटल – रेस्टुराँमा बनाइने खानामा हाइड्रोजेनेसन गरेको वनस्पति तेल–घिउको प्रयोग धेरै गरिन्छ । हाल हाम्रा बजारका मिठाई पसलहरुमा अधिकांशले मिठाई बनाउन ट्रान्सफ्याटयुक्त वनस्पति घिउ–तेल नै प्रयोग गर्छन् । यसले गर्दा नेपालमा वनस्पति तेल–घिउको बजार ठूलो छ ।

कुन तेलचाहिँ उपयुक्त हो त ?
आफूले खाने खानामा डाल्डा घिउ बिल्कुलै प्रयोग गर्नुहुँदैन । त्यस्तो घिउ प्रयोग भएका परिकार नखानु नै बेस हो । हाइड्रोजेनेसन नगरिएको शुद्ध वनस्पति तेल प्रयोगको गर्नुपर्छ । घरमै बनाएको भए धेरै राम्रो । बजारमा किनेको बाक्लो प्रकारको तेल प्रयोग गर्नु हुँदैन ।

नेपाली कारखानामा उत्पादित तेलको भाँडो वा खोलमा हाइड्रोजेनेसन वा ट्रान्सफ्याट सम्बन्धी जानकारी भएको लेबल राख्ने चलन छैन । हामीले यस्तो लेख्न लगाउन बाध्य पार्न अभियान थालनी गर्नैपर्छ । उपभोक्ताले पनि त्यस्तो तेल खानु भएन । विदेशमा बनेको तेलको खोलमा यस सम्बन्धी जानकारी भएको लेबल टाँसेको हुन्छ ।

यस्तो लेबलमा पार्सियली हाइड्रोजेनेटेड आयल (PHO) भनेर लेखिएको हुन्छ सक्छ । हाल विदेशबाट आइरहेको सूर्यमुखी तेल, भटमासको तेल, तोरीको तेल, मकैको तेल आदिमा कुनै न कुनै मात्रामा हाइड्रोजन मिश्रण भएको हुन्छ सक्छ भने कुनैमा मिश्रण भएको हुँदैन ।

लेबल हेरेर छुट्याई ट्रान्सफ्याट वा हाइड्रोजन मिश्रण नभएको मात्र किन्नु पर्छ । हाइड्रोजेनेसन नगरेको शुद्ध तेल पनि एकपटक मात्र तताएर प्रयोग गर्दा मात्र सुरक्षित हुन्छ ।

पटक – पटक तताएर प्रयोग गर्नुहुँदैन । तेल धेरै डढाएर खाना पकाउँदा पनि ट्रान्सफ्याट वृद्धि हुन्छ । तेल जति पटक ततायो त्यति नै त्यो तेल ट्रान्सफ्याटमा परिवर्तन हुँदै जान्छ । तोरीको तेल ठिक्क ततायो भने केही हुन्न तर पटक – पटक तताएर प्रयोग गर्दै जाँदा भने त्यसमा ट्रान्सफ्याट वृद्धि हुँदै जान्छ । अन्य तेलहरु पनि दोहर्याएर प्रयोग गर्नुहुँदैन । यस्तो तेल प्रयोग गरेको तयारी खाना पनि खानुहुँदैन ।

सडकपेटी तथा फूटपाथहरुमा बसेर बनाइने डीप फ्राइ खानाहरुमा तेलको पुनः प्रयोग गरिएको हुन्छ । यस्तो खाना नखानु नै उत्तम हुन्छ । भारतमा फाइभ स्टार होटलमा एकपटक खाना फ्राइ गरि प्रयोग गरिसकेको तेल प्याक गरेर बेच्ने गरेको भिडियो सार्वजनिक भएको थियो । यस्तो नेपालमा पनि भएको हुन नसक्ने होइन ।

नेपालमा हाल सम्म ट्रान्सफ्याट नाप्ने वा परीक्षण गर्ने चलन नै छैन, यद्यपि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भएको प्रयोगशालामा स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनको पहलमा चाँडै नै ट्रान्सफ्याट परीक्षण गर्न शुरु गरिने भएको छ । साथै पाकेट बन्द खानेकुरा र तेलमा लेबलिङ गर्ने विषयमा पनि पहल भएको छ ।

भारत लगायत कतिपय विकसित मुलकमा तेलमा र पाकेट बन्द खाद्य पदार्थमा लेबलिङ गर्ने चलन छ । कुनै–कुनै कम्पनीले ट्रान्सफ्याट जिरो ग्राम भनेर लेखेको हुन्छ । तल चाहिँ हाइड्रोजेनेटेड आयल भनेर लेखेको हुन्छ, जुन एकदमै गलत हो । हाइड्रोजेनेसन गरेको तेलमा ट्रान्सफ्याट शतप्रतिशत हुन्छ ।

चिल्लो खाँदा सावधानी
अहिले धेरै डाक्टरहरुले भन्न थालेका छन्, ‘बरु घिउ एक चम्चा खानुस् तर ट्रान्सफ्याट भएको तेल नखानुस् ।’ एक चम्चा घिउ खाँदा बेफाइदा छैन, त्यो घिउ खाएजति व्यायाम चाहिँ गर्नुपर्छ । तर घिउ खाएर हिँडडुल गर्दैन, व्यायाम गर्दैन भने त्यो अलिकता चिल्लो पनि हाम्रो शरीरमा जम्दै जान्छ ।

दैनिक १० हजार पाइला हिँड्नुहुन्छ भने दैनिक एक चम्चा घिउ खाँदा हुन्छ । यस्तै बोसो पनि खानै नहुने वस्तु होइन, तर धेरै खानुहुँदैन । यसमा पनि माछाको बोसो वातेल शरीरका लागि धेरै राम्रो हुन्छ ।

माछाको बोसोमा ओमेगा ३ हुन्छ, जुन शरीरका लागि लाभदायक छ । यसले शरीरलाई फाइदा गर्ने कोलेस्ट्रोल (HDL) बढाउँछ र खराब कोलेस्ट्रोल (LDL) बढ्न दिँदैन । ओलिभ आयल, एभोकाडो आयल पनि स्वास्थ्यका लागि धेरै नै राम्रो छ । एभोकाडो नै खाँदा झन् फाइदा हुन्छ । यसमा ट्रान्सफ्याट एकदमै कम छ, फाइदा गर्ने फ्याट धेरै छ ।

मुटुरोग भएका मानिसले चिल्लो आपूर्तिका लागि मदिसे बदाम, ओखर, एभोकाडो, माछा खान सकिन्छ । तेल खाँदै नखाए पनि मरिँदैन । किनभने प्रायः सबै प्रकारका खाने कुरामा केही न केही मात्रामा तेल हुन्छ । शरीरमा तोरीको तेल, नरिवलको तेल आदिले मालिस गरे पनि भिटामिन ‘ए’, ‘डी’, ‘ई’ पूरा हुन्छ । यो हाम्रो परम्परागत चलन पनि हो । जसको लिभर खराब छ वा पित्तथैली निकालेको छ, उनीहरुले तेल खाँदा पच्दैन । त्यसैले चिल्लो भएको खाना सकेसम्म खानु हुँदैन रखाए पनि न्यून मात्रामा मात्र । यस्ता मानिसले व्यायाम गरेर पनि चिल्लो पचाउन सक्तैनन् ।

भोजमा जाँदा स्न्याक्सहरु नखाई सीधै खाना खानु राम्रो हो । डीप फ्राइ गरेको खानामा ट्रान्सफ्याट एकदमै धेरै हुन्छ । यस्तो तेल भएका खानाले खराब कोलेस्ट्रोल एकदमै बढाउँछ । चाउचाउको पाकेटमा राखिएको वनस्पति तेलमा पनि ट्रान्सफ्याट धेरै रहेको हुन्छ । ट्रान्सफ्याटले कोलेस्ट्रोलमा तुरुन्तै समस्या ल्याउने होइन, ट्रान्सफ्याट खाएको लामो समय पछि असर देखिन्छ।

अहिले स्कुले उमेरका केटाकेटीलाई जंक फूड खुवाउने गरिन्छ । धेरै जंक फूडखाने बालबालिकाहरुमा युवा अवस्थमै समस्या भई हृदयघात हुन सक्छ र कतिपयको मृत्यु नै हुन्छ । त्यसकारण पनि अहिले ट्रान्सफ्याटको विकल्प खोज्ने र यसलाई निषेध गर्ने अभियान शुरु गरिएको हो ।

ट्रान्सफ्याटले ४० वर्षभन्दा कमउमेरकालाई मात्र होइन, सो भन्दा बढी उमेरका लाई अझ बढी नकारात्मक असर गर्छ । वास्तवमा भन्ने हो भने, हृदयघात हुने सबै कारण पूर्णरुपमा थाहा पाइएको छैन।

अहिले ट्रान्सफ्याटको कारणले पनि हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, मोटोपन र अन्य धेरै रोगहरूको समस्या कम उमेरमा नै देखिन कुरा पत्ता लागेकोले ट्रान्सफ्याट नियन्त्रण गर्न सकियो भने अकाल मृत्युलाई धेरै हद सम्म कम गर्न सकिन्छ । त्यसैले ट्रान्सफ्याटको अर्को विकल्प दिनुपर्छ भनेर विश्व स्वास्थ्य संघले ‘रिप्लेस ट्रान्सफ्याट’ अभियान शुरु गरेको हो । हामी पनि आजै देखि ट्रान्सफ्याट नभएको तेल–घिउ प्रयोग गरौँ ।’

# डा. वैद्य नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सञ्चालन गरेको ट्रान्सफ्याट इलिमिनेसन पोलिसी एडभोकेसि प्रोजेक्टका कार्यक्रम निर्देशक समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *