एपीक्याटको सातौँ शिखर सम्मेलन इण्डोनेसियाको बालीमा सुरु

पाँच बुँदे बाली घोषणा पत्र जारी

बाली, इन्डोनेसिया, १५ मंसिर । सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह एपीक्याटको सातौँ शिखर सम्मेलन इण्डोनेसियाको बालीमा सुरु भएको छ। तीन दिने यो सम्मेलन कोभिड-१९ महामारी पछिको भौतिक उपस्थितिमा भएको पहिलो सम्मेलन हो ।

सम्मेलनमा १२ देशका ८२ शहरका नगर प्रमुख, प्रतिनिधि तथा स्वास्थ्य अधिकारीहरु सहभागी छन् । उनीहरुले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आफ्नो तर्फबाट कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको उदघाट्न बालीका गभर्नर आई वायन कोस्टर, दी युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, इण्डोनेसियाको बोगर सिटीका नगरप्रमुख डा बीमा अर्या सुगियारटो लगायतले संयुक्त रुपमा गरेका थिए ।

बोगरका नगर प्रमुख डा सुगियारटोले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बलियो राजनीतिक प्रतिवद्धताको खाँचो भएको बताए । उनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि कर बढाउने, प्रयोगलाई घटाउने, विज्ञापन तथा प्रर्वद्धन लगायतका प्रचार प्रचार बन्द गर्ने, उत्पादनमा रोक लगाउनुपर्ने धारणा व्यक्त गरे ।

‘टोबाको फ्रि जेनेरेसन’ बनाउन युवाहरुलाई उत्प्रेरित गर्न आवश्यक भएको बताउँदै उनले भने, ‘सुर्तीजन्य पदार्थको नियन्त्रणको विषयलाई सबैले प्राथमिकतामा राख्नुपर्छ । यसको लागि राजनीतिक नेतृत्वकर्ताको आवश्यकता छ । राजनीतिक नेतृत्वकोे विकासका लागि एपिक्याट राम्रो मञ्च हो ।’

डेन्पासार बालीका नगर प्रमुख गुस्टी एनगुराह जया नेगाराले सन् २०२४ सम्ममा सुर्तीजन्य पदार्थको सेवन गर्ने युवाहरुको संख्या ९ दशमलव ४ बाट ८ दशमलव ४ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताए । डेन्पासारका सबै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको भन्दै उनले टोबाको फ्रि सिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिए ।

रिपब्लिक अफ इण्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादीकीनले सरकारले सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाइएको बताए । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र नियन्त्रण गर्न स्थानीय सरकारको जिम्मेवारी भएको उनको भनाई छ ।

उद्घाटन समारोहमा बोल्दै दी युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बमले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि राजनीतिक रुपमा प्रतिवद्धता र कार्यान्वयन आवश्यक रहेको बताए । सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सके मात्र नसर्ने रोगहरुको भारलाई समेत कम गर्न सकिने उनको भनाई थियो ।

पाँच बुँदे बाली घोषणा पत्र जारी
यसैबीच सम्मेलनमा विहीबार नै पाँच बुँदे घोषणापत्र समेत जारी गरेको छ । उक्त घोषणा पत्रमा धूम्रपान रहीत वातावरण निर्माणका लागि सुर्तीजन्य पदार्थको विज्ञान तथा प्रचारप्रसार बन्द गर्ने, चेतावनीमूलक सन्देश सहितको प्याकिजिङ, कार्यान्वयन गर्ने र विद्युतीय चुरोट लगायत सुर्तिजन्य पदार्थमा बन्देज लगाउने उल्लेख छ ।

यस्तै सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ लगायत अस्वस्थकर खानेकुरामा कर बढाउने, सुर्तीजन्य पदार्थको उत्पादन गर्ने उद्योगहरुले उपलब्ध गराउने कुनै पनि उपहार तथा लाभदायक वस्तु अस्वीकार गर्ने र एकद्धार स्वास्थ्य प्रणाली मार्फत पहुच योग्य एक स्वस्थ नगर बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशिल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई एपीक्याट अवार्ड २०२२ प्रदान गरिएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट भरतपुर महानगरपालिकाका वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले र स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी समेत सहभागी छन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *