वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवा सुरु
काठमाडौँ, २० कात्तिक । वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउने स्कीन प्रिक टेष्ट सेवा सुरु गरेको छ । वीरमा आईतबार देखि यो सेवा सुभारम्भ गरिएको हो ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले स्कीन प्रिक टेष्ट सेवाको उद्घाटन गर्दै शुभारम्भ भएको घोषणा गरे ।
स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्छ । यो सेवा सञ्चालनमा ल्याएको वीरको नाक कान घाँटी रोग विभाग प्रमुख डा अनिता जिसीले एलर्जी के कारणले भयो भन्ने थाहा पाईने र त्यसले उपचारका निकै नै सजिलो हुने बताईन् ।
स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्र्दछ ।
‘विशेषगरी हाछिउ आउने, नाक चिलाउने, छालामा डावर आउने, नाक बन्द हुने मात्रै होइन कतिपयमा एलर्जीको कारणले छातीमा दम पनि हुन्छ । एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत विभिन्न समस्या हुन्छ । यी सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ,’ उनले भनिन् ।
डा जिसीले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताईन् । उनले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महंगो रहेको उल्लेख गरिन । ‘हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नु पर्ने बाध्यता छ,’ उनले भनिन् ।
प्रमुख कार्यकारी अधिकारी डा बस्नेतले आम सर्वसाधारणको सहज पहुँच भएको वीर अस्पतालबाट अति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको बताए । ‘इएनटीको विशेषज्ञ सेवा भई नै रहेको थियो तर हामीले त्यसमा थप सहजता र परीक्षणका लागि स्कीन प्रिक टेष्ट सेवा सञ्चालनमा ल्यायौँ,’ डा बस्नेतले भने ।
उनले यो सेवा सुरु गर्न अहिले जनशक्ति प्रयाप्त रहेको समेत बताए ।
उनले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताए । त्यसलाई ध्यान दिएर आउँदो हप्ता देखि अप्रेसनका लागि छ दिन नै तोक्ने योजना बनेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]