चुनाव प्रचार अभियान रोकेर उम्मेद्धारले गरे रक्तदान
प्रतिनिधि सभा सदस्यका उम्मेद्धार प्रेमसागरले गरे १७२ औँ पटक रक्तदान
काठमाडौँ, १९ कात्तिक । बागबजारस्थित हार्दिक होटलको मुख्य हलमा शनिबार सत्ता पक्ष गठबन्धन समूहको भेला थियो, जहाँ पक्षका नेता कार्यकर्ताहरुले आगामी ४ मंसिरमा हुने निर्वाचनबारेमा छलफल गर्दै थिए । त्यहि होटलको पार्किङ तिरको सानो हलमा प्रेमसागर कर्माचार्यले आफ्नो १७२ औँ पटक रगत दान गरिरहेका थिए ।
‘डेंगी महामारीले गर्दा यसपटक रगतको झनै अभाव भयो । फेरी मैले रक्तदान गरेको ठिक्क तीन महिना पनि पुग्यो । त्यसपछि आफ्नो काम त नगरी भएन भन्ने लाग्यो र रक्तदानमा गरें,’ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा काठमाडौ क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेद्धारी दिएका कर्माचार्यले भने ।
उनले आफ्नो पहिचान स्वयंसेवा रहेकोले रगत अभाव भएका बेलामा भोट मागेर घर घर हिड्न मनले नमानेको बताए । ‘म हरेक तीन तीन महिनामा रगत दिने गर्दछु । यसपटक त झनै डेंगीले रक्तदाताहरुमा कमी आएको छ । त्यसले गर्दा पनि अहिले रक्तदान गर्नु आवश्यक थियो र गरें,’उनले भने ।
उनले रक्तदान गर्दा सबैभन्दा बढी पटक रक्तदान गर्ने आफ्नै यसअघिको रेकर्ड तोडेका थिए । हरेक तीन तीन महिनाको अन्तरमा नियमित रुपमा रक्तदान गर्ने ५९ वर्षीय कर्माचार्य रगत नपाएर छटपटिएका बिरामी र तिनका आफन्तहरुलाई रगतको व्यवस्थापन गर्ने भरपर्दो सहयोगीको रुपमा पनि परिचित छन् ।
‘मैले रक्तदान सम्वन्धी स्वयंसेवा गर्न थालेको ४३ वर्ष पुग्न थाल्यो । अहिले ५९ वर्ष लागें, यो काममा १६ वर्ष देखि नै लागेको हुँ । तर अहिले पनि अपेक्षित सुधार हुन सकेको छैन् । रगत व्यवस्थापन गर्न त यति चुनौती छ र सुधार हुँदैन भने देशको अवस्था झन् कस्तो होला ? त्यहि भएर मैले अव देश सुधारमा आफ्नो कदम अघि बढाउनु पर्छ भनेर उम्मेद्धारी दिएको हुँ,’ उनले स्वतन्त्रबाट उम्मेद्धार बन्नुको कारण खुलाए ।
उनले रक्तदानलाई जीवनदान र मतदानलाई देश बचाउने अभियान भनेर नारा दिएका छन् ।
‘मेरा कार्यहरु स्वास्थ्य स्वयंसेवामा आधारित भएकोले प्रतिवद्धतामा पनि यस्तै कुराहरु बढी छन् । काठमाडौँका जनताले मेरो काम र मलाई राम्ररी चिन्नु पनि भएको छ । त्यसैले जित्ने भोट पाउने छु भन्ने विश्वास छ,’ उनले भने ।
स्वतन्त्र उम्मेद्धार बनेका शतक रक्तदाता कर्माचार्यलाई निर्वाचनका आयोगले घण्टाघर चुनाव चिन्ह दिएको छ । बागबजारका रैथाने कर्माचार्यले आफ्नै टोलको प्रसिद्ध घण्टाघर चुनाव पाउँदा प्रचार प्रसारमा समेत सजिलो भएको बताए ।
शनिबार चुनाव प्रचारको कामलाई थाती राखी रक्तदान कार्यक्रम गरिरहँदा उनलाई अरु १६ जनाले रक्तदान गरेर साथ दिएका थिए । उनको अभियानलाई हौसला प्रदान गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकार र कामनपा २८ का वडाअध्यक्ष भाइराम खड्गी रक्तदान स्थल पुगेका थिए ।
उनीहरुले नै रगत व्याग दिएर कर्माचार्यले आफ्नो १७२ औँ पटकको रक्तदान गरेका हुन् ।
सम्पर्क इमेल : [email protected]