चिकित्सक लाइसेन्स परीक्षामा सिट प्लानिङ गरिदिएवापत १५ लाख रुपैयाँ दिनु पर्ने भनेपछि……

काठमाडौँ, २ असोज ।  गत शुक्रबार अर्थात ३१ भदौ । नेपाल मेडिकल काउन्सिलको ईमेल ठेगानामा भर्खरै आएको नयाँ ईमेल देखिन्छ । काउन्सिलका अधिकारीले ईमेल खोल्छन् । त्यहाँ लेखिएको ईमेल देखेपछि भने झक्सिन्छन् ।

एक जना व्यक्तिले पठाएको ईमेलमा काउन्सिलको माथि गम्भीर आरोप थियो । त्यसमा भनिएको थियो, ,लाइसेन्स परीक्षामा सिट प्लानिङ मिलाईदिए वापत परीक्षार्थीहरुसंग १५ लाख रुपैयाँ लिन लाज लाग्दैन् ?’

गम्भीर आरोप आएपछि अधिकारीहरुले पठाउने इमेल चेक गरे, उनी यसअघि तीन पटक लाइसेन्स परीक्षामा अनुतीर्ण भएका व्यक्ति रहेछन् ।

तत् पश्चात काउन्सिले ती व्यक्तिमाथि आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

काउन्सिलले ती व्यक्तिलाई जवाफी ईमेल लेख्दै भनेको छ, ‘सिट प्लानिङ मिलाईदिए वापत १५ लाख रुपैयाँ लिने गरेको भनी गम्भीर आरोप लगाई इमेल पठाउनु भएकोले सो आरोप के कुन आधारमा लेखि पठाउनु भएको हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र सप्रमाण काउन्सिलमा उपस्थित भई लिखित जवाफ दिनु होला ।’

काउन्सिलले ती व्यक्तिमाथि आरोप पुष्टि नभएमा चिकित्सक नाम दताृ तथा विशेष परीक्षा सञ्चालन कार्यविधि २०७७ को दफा २२ (२) बमोजिम १ देखि ३ वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गर्न सक्ने जानकारी समेत गराएको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारी भन्छन्, ‘पछिल्लो समय चिकित्सा पढेका भाईबैनीहरुले क्लिनिकल पाटोमा उत्कृष्ठ भएपनि सामाजिक, कानूनी र व्यवहारिक ज्ञानमा अलि कम ध्यान दिएको हो कि जस्तो लाग्छ । यसलाई तत्कालै नसच्याउने हो भने यसले दीर्घकालमा समस्या थपिदै जान्छ ।’

उनले सामाजिक सञ्जालमा होस या व्यक्तिगत वा सार्वजनिक संस्थाको इमेलमा लेख्दै गर्दा कत्तिको गम्भीर विषय कसरी उठान गरेको छु भनेर एक पटक सोच्नु पर्ने बताए ।

त्यसो त काउन्सिलले केही महिना अघि मात्रै चिकित्सकहरुलाई सामाजिक संजाल तथा विद्युतीय संचारमाध्यम उपयोग आचार संहिता बनाई के गर्न हुने के नहुने भन्ने बारेमा सार्वजनिक सूचना जारी गरिसकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *