औपचारिक रुपमा सञ्चालनमा आयो सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर

काठमाडौँ, २२ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पाल) ले क्यान्सर रोगको उपचारका लागि बनाएको छुट्टै ‘वीङ’ आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । क्यान्सर रोगको उपचारका लागि स्थापना गरिएको ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर’ बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

आजको कार्यक्रममा प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सेन्टर भित्रै बनाइएको तत्कालिन माओवादी नेता सुरेश वाग्लेको अर्धकदको शालिक अनावरण गर्दैै क्यान्सर सेन्टरको उदघाटन गरे ।

ठिक १० वर्ष अघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षण अस्पताल परिसरमा क्यान्सर रोगको उपचार गर्ने छुट्टै सेन्टर बनाउने गरी भवन सिलान्यास गरेका थिए । त्यसबेला ठेकेदारले तीनवर्ष भित्रमा निर्माण सम्पन्न गरी सरकारलाई बुझाउने सम्झौँता गरेको थियो । तर भवन तयार हुन नै करीब ८ बर्ष लाग्यो । कोभिड १९ को महामारी सुरु भएका बेला निर्माण सम्पन्न भएको यो भवनमा सुरुमा कोभिडकै बिरामी राखेर उपचार गरिएको थियो । गतवर्ष १ भदौ देखि भने क्यान्सरको उपचार सेवा पनि सुरु गरिएको थियो ।

कुल ११० शैय्याको यो अस्पतालमा अहिले करीव ९० शैय्या मात्रै सञ्चालनमा छ । क्यान्सरको रेडियो थेरापी उपचार बाहेकका अन्य उपचार सेवा भइरहेको सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा रक्षा श्रेष्ठले बताईन ।

‘हामीले यस सेन्टर भित्र केमो थेरापीका लागि ‘डे – केयर’ सञ्चालन गरेका छौँ त्यहाँ दैनिक १८ देखि २० जना बिरामीहरुले सेवा लिएर जानु हुन्छ । क्यान्सरका बिरामीका लागि अंको फार्मेसी सेवा पनि भवन भित्रै रहेको छ’ डा. श्रेष्ठले भनिन् ।

यसबाहेक सबै खालका क्यान्सर स्क्रिनिङका सेवाहरु दिईरहिएको छ । म्यामोग्राफी, प्यापस्मेर, अल्ट्रासाउण्ड, कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटिस्क्यान सेवाहरु यहाँबाट उपलव्ध छ ।

उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री खापुङले क्यान्सर रोगका बिरामीहरुको सहुलियत र गुणस्तरीय ढंगबाट उपचार हुनेमा आफु विस्वस्त रहेको बताए । उनले राज्यका तर्फबाट सेन्टरका लागि गर्नुपर्ने सहयोगका लागि आफू सकारात्मक रहेको बताए ।

कार्यक्रममा माओवादी सांसद अंजना विशंखे, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डीन प्राडा दिव्यासिंंह शाह, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, सेन्टरका संयोजक प्राडा वाईपी सिंह, सुरेश वाग्लेका छोरा विकास वाग्ले लगायतले बोलेका थिए । उनीहरुले क्यान्सर रोगको उपचारमा सेन्टर अब्बल हुनुपर्नेमा जोड दिएका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *