नेपालकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को स्थापना

काठमाडौँ, ३ भदौ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा नेपालकै पहिलो ह्युमन मिल्क बैंक‘ स्थापना भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन गरेकी छन्।

परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा अमृत कोषको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

बालबालिका मैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका निम्ति यो एक महत्वपूर्ण कदम हो र यसले समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँछ ।

अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ । यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो ।

“बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न यूरोपियन युनियन, लामो समयदेखि युनिसेफसँगै नेपाल सरकारको साझेदार संस्थाका रूपमा काम गर्दै आएको छ ।

यसै अन्तर्गत स्तनपान प्रवर्धन पनि एक प्रमुख क्षेत्र रहँदै आएको छ,” नेपालका लागि यूरोपियन युनियनका राजदूत नोना डिप्रेजले भनिन्। “आज, यो त्रिपक्षीय साझेदारीमार्फत नेपालमा पहिलो ह्यमन मिल्क बैंक ‘अमृत कोष’ स्थापना भएकोमा हामी गौरवान्वित भएका छौँ । यसबाट आफ्नो आमाको दूध प्राप्त गर्न नसकेका धेरैभन्दा धेरै नवजात शिशुहरूले दूध प्राप्त गर्नेछन् र यसले उनीहरूको स्वास्थ्यको रक्षा गर्नका साथै समग्र विकासमा लाभ पुग्नेछ भन्ने हाम्रो आशा छ ।”

बहुक्षेत्रीय पोषण योजनाले किशोरी, गर्भवती महिला, स्तनपान गराउने आमा, शिशु तथा साना बालबालिकाका लागि स्वस्थ, पौष्टिक र विविध आहारको प्रवर्द्धन गरी नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार गर्न खोजेको छ ।

सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

“नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र यूरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा युनिसेफ हर्षित छ ।

बाल पोषण सुधार गर्न र विशेष गरी बालबालिकामा देखिएको तीव्र कुपोषणलाई सम्बोधन गर्न बहुक्षेत्रीय पोषण योजना अन्तर्गत हाम्रो संयुक्त प्रयासलाई अगाडि बढाउनको लागि ‘अमृत कोष’ ह्युमन मिल्क बैंकको पहल महत्वपूर्ण छ,” नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विशले भने, “सबै आमाहरूलाई हाम्रो हृदयदेखि धन्यवाद छ, जसले स्तनपान गराउन कठिनाई भएका अरु आमाहरूका शिशुहरूलाई उदारतापूर्वक आफ्नो दूध दान गरिरहनुभएको छ – विशेष गरी समयअघि नै जन्मेका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई। यसबाट ती शिशुहरूलाई धेरै लाभ पुग्नेछ ।”

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *