आगामी ५ भदौ देखि ५० जिल्लाका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिईंदै

काठमाडौँ, २७ साउन । सरकारले आगामी ५ भदौ देखि ५० जिल्लाका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि २७ वटा जिल्लामा सो उमेर समूहका बालबालिकालाई कोभिडबिरुद्धको खोप दिएको थियो । ती जिल्लाका बालबालिकाहरुलाई दुबै मात्रा खोप दिईसकिएको छ ।

मन्त्रालयका अनुसार पहिले खोप लगाउन बाँकी रहेका ५० जिल्लामा ५ देखि ११ भदौसम्म पहिलो मात्रा र २७ देखि १ असोजसम्म दोस्रो मात्रा खोप दिईने छ । बालबािलकाहरुलाई फाइजर बायोन्टेकको पेडियाटिक डोज खोप दिईदै छ ।

त्यसका लागि सरकारले कोभिड सुविधा अन्तरगर्त ८४ लाख डोज खोप अनुदानमा प्राप्त गरेको छ । ती सबै खोप नेपाल आईसकेको बताइएको छ ।

५ भदौ देखि खोप सुरु हुने ५० जिल्ला कुन कुन हुन् ?

मन्त्रालयका अनुसार,
प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुर रहेका छन्।

त्यसैगरी, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही गरी तीन जिल्ला रहेका छन्।

बाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक गरी छ जिल्ला रहेका छन्।

गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुनेछ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् ।

यस्तै कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट छन्।

सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ।

कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यलय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कासँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *