कोरोना संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशत खोप नलगाएका

काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले खोप नलगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोरोनाबिरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ ।

नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म ६१ जना आईसीयू र ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिश्वभर नै कोरोना संक्रमण अझै निर्मूल भई नसकेको र जोखिम रहेको छ ।  कोरोना सङ्क्रमित मध्ये लगभग ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन ।

तर खोप नलगाएका मानिसमा गम्भीर रूपमा बिरामी पर्ने वा मृत्यु हुनसक्ने सम्भावना खोप लगाएकाको तुलनामा १० गुणा बढी हुने मन्त्रालयले जनाएको छ ।

बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ ।

साथै जनस्वास्थ्यका मापदण्ड पालना गर्नपनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *