समायोजन भएका स्वास्थ्यकर्मीलाई फिर्ता गर्दै स्थानीय तह

महासंघ भन्छ, 'समायोजन भइसकेका स्वास्थ्यकर्मीलाई दुख दिने काम भयो'

काठमाडौँ, १६ साउन । विगतमा समायोजन मिलान गरी सेवा दिन पुगेका स्वास्थ्यकर्मीलाई स्थानीय तहले फिर्ता गर्न थालेको छ । दरबन्दी भन्दा बढी जनशक्तिलाई हामीले तलव खुवाउन सक्दैनौँ भन्दै पालिकाहरुले स्वास्थ्यकर्मीहरुलाई फिर्ता गर्न थालेको हो ।

पालिकाहरुको यो निर्णयले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपमहासचिव हिमालय तिवारीले विगतमा समायोजन मिलानको नाममा स्वास्थ्यकर्मी राखेर सेवा लिने स्थानीय तहले अहिले सक्दैनौँ भनेर फिर्ता गर्न नमिल्ने बताउँछन् । उनले नयाँ जनप्रतिनिधिहरुलाई स्वास्थ्यकर्मीको समायोजन र मिलानको विषयमा गम्भीर हुन समेत आग्रह गरे ।

अहिले केही पालिकाहरुमा समस्या आएको सुनिएको छ । करीब एक डेढ सयमा यस्तो समस्या भएको खबर पाएका छौँ । यसलाई समाधान नगर्ने हो भने हजार पन्ध्र सयमा यो समस्या देखिन्छ । तिवारीले भने ।

कसरी गरिएको थियो समायोजन मिलान ?
कर्मचारी समायोजन सुरु गर्दा दुई वर्ष अघि स्वास्थ्यकर्मीहरुको समायोजन निकै नै भद्रगोल भएको थियो । पछि मन्त्रालयले समायोजन मिलानको नाममा त्यसलाई सच्याउने प्रयास गर्यो ।

स्वास्थ्यकर्मी आफैले आफू कार्यरत स्थान र जान चाहेको स्थानको कार्यालयबाट तलव खुवाउने गरी स्वीकृति पत्र सहित निवेदन दिएकाहरुलाई समायोजन मिलान गरिदिएको थियो । सो क्रममा कतिपय पालिकाहरुमा दरबन्दी बढी पनि समायोजन भएका थिए । अहिले नयाँ जनप्रतिनिधिहरु आईसकेपछि उनीहरुलाई फिर्ता गर्न खोजेको हो ।

तिवारीले ती पालिकाहरुमा नयाँ दरबन्दी संरचना बनाएर भएपनि गएर सेवा दिईसकेका स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्नुपर्ने बताउँछन् । आइतबार आफूहरुले स्वास्थ्य मन्त्रालयमा गएर त्यसबारेमा ध्यानाकर्षण गराएको समेत बताए ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदनकुमार भुजेलले केही स्थानमा स्वास्थ्यकर्मीहरुको समस्या देखा परेको आफूले थाहा पाएको भन्दै यसको समाधानका लागि आवश्यक परे सामान्य मन्त्रालय संग समेत छलफल गर्न सकिने बताए । उनले स्वास्थ्यकर्मीको समायोजनको विषयमा आफूहरु सम्वेदनशील रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *