मुटुको शल्यक्रियाका लागि अत्यावश्यक मेसिन अक्सिजेनेटरको नेपालमा अभाव

काठमाडौँ, ४ साउन । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक हुने मेसिन अक्सिजेनेटर नेपालमा अभाव भएको छ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले यो मेसिनको अभावका कारण इमरजेन्सी बाहेकका शल्यक्रिया रोकेको छ । अहिले मेसिन अभावकै कारण शल्यक्रियाका लागि भर्ना भएका ४५ बढी बिरामीलाई फर्काईदिएको अस्पतालले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अक्सिजेनेटर अभाव भएकोले शल्यक्रियाको काम स्थगित गर्नु परेको बताए । हामीसंग भएको मौज्दात सकियो । थप ल्याउनु पर्ने सामान हामीलाई सप्लाई गर्ने सप्लायर्सले ल्याउन सकेन । त्यसैले अहिले हामीले बिरामी फर्काउन बाध्य भएका हौँ । इमरजेन्सीका लागि केही मात्रै हामीसंग रहेको छ । डा अधिकारीले भने ।

उनले बच्चाको लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा मौज्दात रहेको जानकारी दिए ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरले भने हिलेसम्म विरामीको शल्यक्रिया नरोकिएको जनाएको छ । ‘यो मेसिनको अभाव त छ नै तर हामीकहाँ गंगालालमा जस्तो ठूलो भोल्युममा शल्यक्रिया हुँदैन् । त्यसैले केही स्टक छ । हामीले गरिरहेका छौँ तर अहिले यो मेसिन विश्वव्यापी रुपमा नै अभाव भएकोले हामीले पनि यसमा सोच्नु पर्ने बेला आएको छ,’ मनमोहनका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भने ।

उनले आकस्मिकको लागि शल्यक्रिया जारी राख्ने र केही पछि गरे पनि हुनेलाई अहिले शल्यक्रिया नगर्ने कि भन्ने योजना बनाउन लागेको जानकारी दिए ।
‘रुस युक्रेन युद्ध छ । त्यसको पनि प्रभाव होला । जापान अमेरिका, तथा केही युरोपियन देशहरुबाट आउने मेसिन हो । हामीले त भारतबाट ल्याउथ्यौँ । भारतमै पनि यो मेसिनको अभावले धेरै अस्पताल समस्यामा परेको बताइएको छ,’ डा श्रेष्ठले भने ।

के हो अक्सिजेनेटर ?
बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाका अनुसार अक्सिजेनेटर मुटुको शल्यक्रियामा प्रयोग हुने मेसिन हो । ‘मुटुलाई बन्द गर्दा फोक्सो पनि चल्दैन । त्यसबेला फोक्सोको काम गर्ने मेसिन हो । अर्थात कृतिम फोक्सो हो भनेर बुझ्दा पनि हुन्छ,’ डा कोइरालाले भने ।

उनले त्यो मेसिनबिना मुटुको शल्यक्रिया गर्न नसकिने स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *