पूर्वका तीन ठूला अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने चेतावनी

काठमाडौँ, ८ असार । पूर्वका तीन वटा ठूला निजी अस्पतालले सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम रोक्ने चेतावनी दिएका छन् । उपचार गरेवापत पाउनु पर्ने रकम लामो समय देखि रोकिएको भन्दै तत्काल सोधभर्ना नगरे स्वास्थ्य बीमा कार्यक्रम रोक्ने बताएका हुन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा झापाको बीएण्डसी अस्पताल, बिराटनगरको नोवेल मेडिकल कलेज र बिराट मेडिकल कलेजले तत्काल रकम सोधभर्ना नगरे २० असार देखि बीमा कार्यक्रम बन्द गर्ने बताएका हुन् ।

बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले आफूहरुले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड भन्दा बढी रकम पाउनु पर्ने भन्दै लामो समय देखि रकम निकासा नगर्दा सेवा रोक्न बाध्य भएको बताए । यस्तै नोवेलको व्यवस्थापन समिति सदस्य भीम चन्दले आफूहरुको बीमा बापतको ५४ करोड बढी रकम रोकिएको बताए । यस्तै बिराटले आफ्नो पनि ४५ करोड बढी रकम पाउन बाँकी रहेको दावी गरेको छ ।

बीएण्डसीका सञ्चालक प्रसाईँले रकमका लागि स्वास्थ्य बीमा बोर्डमा पटक पटक ताकेता गर्दा पनि झुलाएर राखिएको आरोप लगाए । उनले बाध्य भएर कार्यक्रम बन्द गर्ने अवस्थामा पुगेको बताए ।

नोबेलका व्यवस्थापक चन्दले आफूकहाँ बीमा अन्तरगर्त दैनिक १ हजार ८ सय सम्म बिरामीले उपचार लिईरहेको भन्दै मंसिर यता ५४ करोड ३८ लाख रुपैयाँ लिन बाँकी रहेको बताए ।

चन्दले आफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको र यसको असर पठनपाठनमा पनि पर्ने जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *