स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्ने सरकारले नीति लिएको छ : योजना आयोग उपाध्यक्ष डा. पौडेल

चितवन १० बैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन् । उनले अब स्वदेशी औषधि निर्यात गर्ने र आयातलाई निरुत्साहित गर्ने बाताबरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल औषधि उत्पादक संघ –एपोन)को आयोजनामा शुक्रबार देखि चितवनमा जारी नेपाल फर्मा एक्स्पो २०२२ को दोस्रो दिन नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले औषधिमा आत्मनिर्भर अनिवार्य आवश्यक भन्दै त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

‘सरकार राम्रा राम्रा नीति बनाए पनि कार्यान्वयनमा चुक्ने गरेको स्वीकार्दै उनले त्यसलाई कमजोर राज्य व्यवस्थाको नतिजा रहेको ठोकुवा गरे । कमजोर राज्य व्यवस्था भएका मुलुकमा नीतिहरु कार्यान्वयन हुन गाह्रो हुन्छ । यहाँ पनि औषधिका राम्रा राम्रा नीति बनेका छन् । बन्ने क्रमममा छन् तर कार्यान्वयनमा ल्याउन चुनौतिपूर्ण छ,’ उनले भने ।

डा पौडेलले आगामी बर्षको नीति तथा कार्यक्रममा स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्न राज्यले केही न केही व्यवस्थ ागर्ने समेत आश्वासन दिए । उनले भने, ‘अहिले नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुँदैछ । यहि मेसोमा तपाईँहरुका समस्या पनि ल्याउनुस केही राम्रा कामको थालनी गरौँ ।’

अन्तरक्रिया कार्यक्रममा औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि विभागले आवश्यक सहकार्य र समन्वयको भूमिका खेलिरहेको भन्दै नीतिगत रुपमा पनि केही परिवर्तन आवश्यक रहेको बताए । उनले औषधि व्यवस्थाको विभागको पुरानो संगठन संरचनामै रहेको भन्दै त्यसले सेवाग्राहीलाई सहज ढंगले काम गर्न केही कठिनाई भएको स्वीकारे ।

कार्यक्रममा औषधि उत्पादक संघ नेपाल एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधिमा आत्मनिर्भरताको बाटोमा नेपाली औषधि उद्योगहरु अघि बढी रहेको भन्दै राज्यले आवश्यक सहयोग गर्नु पर्ने बताए । उनले सरकारले नीति बनाउँदा नेपाली उद्योग मैत्री हुनुपर्ने, निर्यात मुखी हुनुपर्ने भन्दै भन्दै सरकारको सहयोग विना नेपाली औषधि उद्योगले निर्यात क्षेत्रमा फड्को मार्न गाह्रो हुने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले स्वदेशी औषधि उद्योगहरुले प्रयोगमा ल्याएका उपकरणहरु, प्रविधिहरुको प्रर्दशनी राखिएको बताए । उनले हरेक पटकको एक्स्पोले नेपाली औषधिको विकास क्रमलाई समेत देखाएको स्पष्ट पारे ।

कार्यक्रममा एपोनका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालले नेपाली औषधि क्षेत्रको इतिहास र वर्तमान अवस्थाको बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले स्वदेशी औषधि उद्योगले भोगिरहेको कठिनाई, नीतिगत समस्याका बारेमा समेत चर्चा गरेका थिए । उनले राज्यले स्वदेशी उद्योगलाई गर्नुपर्ने सहयोगको बारेमा समेत आयोगका उपाध्यक्षको ध्यानाकर्षण गराएका थिए ।

भोलीसम्म चल्ने एक्स्पोमा १६० वटा बढी कम्पनीका स्टल रहेका छन् । त्यसमा ३७ वटा नेपाली औषधि कम्पनीहरुको रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *