स्वास्थ्य मन्त्री खतिवडासंग डब्लुएचओका प्रतिनिधिमण्डलको भेटवार्ता :

नेपालको स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने विश्व स्वास्थ्य संगठनको प्रतिवद्धता

काठमाडौँ, ८ बैशाख । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले नेपालको स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएका डा.टेड्रोसले बिहीबार स्वास्थ्य मन्त्री विरोध खतिवडासंगको भेटवार्तामा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘मन्त्री ज्यूसंगको भेटका क्रममा डा टेड्रोसले नेपाललाई मातृशिशु स्वास्थ्य तथा क्यान्सर उपचारमा सुधार ल्याउन थप सेन्टरहरु स्थापना गर्न डब्ल्यूएचओले सहयोग गर्न तयार रहेको बताउनु भयो,’ स्वास्थ्य सचिव डा रोशन पोखरेलले भने । यसै गरी उनले हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रलाई स्तरोन्नती गर्दै थप सुविधासम्पन्न तालीम केन्द्रका रुपमा विकास गर्ने विषयमा डब्लुएचओ प्रतिवद्ध जनाएको बताए ।

डा टेड्रोसले विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्यअनुसार सन् २०२२ को मध्यसम्ममा कूल लक्षित जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने उद्धेश्य हासिल गर्न नेपालले गरेको प्रयासको प्रशंसा गरे ।

यस्तै जनस्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ तुल्याउने सहितका अन्य प्राथमिकताका क्षेत्रहरुमा नेपाललाई सहयोग गर्ने विश्व स्वास्थ्य संगठनको प्रतिबद्धता दोहो¥याए । मन्त्रीसंग भेटका अवसरमा उनले नेपालको समग्र कोभिड–१९ महामारी प्रतिकार्य र स्वास्थ्यमा विश्वव्यापी पहुँच हासिलका लागि गरिएका प्रयासहरुको प्रशंसा समेत गरेका छन् ।

यस्तै डा पूनम क्षेत्रपाल सिंहले टाइफाइड कन्जुगेट खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने यस क्षेत्रको पहिलो देश भएकोमा नेपाललाई बधाई दिईन । उनले सन् २०२० मा यस क्षेत्रका सदस्य राष्ट्रहरुले अवलम्बन गरेको संकल्प अनुरुप अत्यावश्यक स्वास्थ्य सेवाको सुदृढीकरणमा नेपालले गरेको प्रयास उल्लेखनीय भएको बताईन् ।

बहुक्षेत्रीय कार्ययोजनाको अनुमोदन र सेफर इनिसियटिभको शुभारम्भ गरेबाटै नसर्ने रोगको सम्बोधनमा नेपालको प्रतिबद्धता स्पष्ट भएको क्षेत्रीय निर्देशकले बताईन ।

डा सिंहले रोग उन्मुलन, मातृ, नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकामा हुने मृत्युदर घटाउने र स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउने लगायतका मुद्धाहरुमा तीब्रताका साथ काम गर्नुुपर्नेमा जोड दिईन ।

स्वास्थ्य मन्त्रीलाई भेट गरेपछि डव्लुएचओको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *