डब्लुएचओका महानिर्देशक डा. टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता, के के भयो कुराकानी ?

काठमाडौँ, ८ बैशाख । तीन दिने नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोभ ग्रेबैयसस र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ । टेड्रोसले दिउसो सवा तीन बजे स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री खतिवडासंग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा स्वास्थ्य सचिवद्धय देवकुमारी गुरागाईँ, डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह लगायतका सरकारी उच्च अधिकारीहरुको उपस्थिति थियो । डव्लुएचओको तर्फबाट दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह र अरु उच्च अधिकारीहरुको सहभागिता थियो । करीब ४० मिनेट लामो भेटवार्तामा मन्त्री खतिवडाले डव्लुएचओले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।

सो अवसरमा उनले गत सेप्टेम्बरमा नेपालले कोभिड १९ महामारीको जोखिमका बीचमा दक्षिणपूर्वी एसियाका लागि क्षेत्रीय समिति सेरोको ७४ औँ सत्र सफलतापूर्वक सम्पन्न गरेको सुनाए । यस्तै सन् २०१५ मा आएको भूकम्पपछि नेपालमा ठूलो स्वास्थ्य संकट आईपरेका बेला आपतकालिन समयमा समेत डव्लुएचओले विश्व स्वास्थ्य सम्मेलन २०१५ को साइड इभेन्ट नेपालमा आयोजना गरिदिएको स्मरण गर्दै सो कार्यको प्रशंशा गरेको बताए ।

मन्त्री खतिवडाले पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि डव्लुएचओले गरेको सहयोगको खुलेर तारिफ गरे । उनले यो बीचमा डव्लुएचओले सरकारसंग मिलेर गरेका मुख्य मुख्य कामहरुबारे समेत बताएका थिए ।

 

दोस्रो कार्यकालका लागि महानिर्देशक डा टेड्रोसको उम्मेद्धारी
कतिपयले डा टेड्रोसको नेपाल भ्रमणलाई सकिदै गरेको पहिलो कार्यकाल र त्यसपछि पुर्न दोस्रो कार्यकालका लागि समर्थन खोज्ने मुख्य उदेश्य हो भनेका थिए । स्वास्थ्य सचिव डा रोशन पोखरेलले डव्लुएचओ प्रमुख नेपाल आउनुमा आफैमा महत्वपूर्ण भन्दै नेपालले उनलाई दोस्रो कार्यकालका लागि समर्थन गरेको बताए । उनले आगामी मे महिनामा नेपालले समर्थन गर्ने बचन दिएको बताए ।

स्वास्थ्य मन्त्रालयमा करीब ४५ मिनेट बिताएका डा टेड्रोसको टोली त्यसपछि परराष्ट्र मन्त्री डा नारायण खड्कासंग भेटवार्ता गर्न सिंहदरबार तर्फ लागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *