आँखा स्वास्थ्य क्षेत्रमा लगानी बढाउछौँ – स्वास्थ्य मन्त्री खतिवडा
आँखाको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई नेत्रज्योति संघको सम्मान

काठमाडौँ, १३ चैत । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आँखा स्वास्थ्य सेवाका लागि सरकारले थप लगानी गर्ने बताएका छन् । उनले राज्यका तर्फबाट संञ्चालित स्वास्थ्य संस्थामा आँखा सेवा विस्तार गर्ने र गैर सरकारी क्षेत्रमा आवश्यकता अनुसार सहयोग गर्ने नीति सरकारको रहेको उल्लेख गरेका छन् ।
नेपाल नेत्रज्योति संघको ४४ औँ स्थापना दिवस समारोहलाई सम्वोधन गर्ने क्रममा मन्त्री खतिवडाले राज्यले सबै खालको स्वास्थ्य समस्या हेर्ने गरी अस्पताल खोलेपनि आँखा स्वास्थ्यमा आफ्नै छुट्टै अस्पताल नभएको बताए । तर उनले आँखा स्वास्थ्य सेवा कार्यक्रम भने स्थापित र सफल भएको उल्लेख गरे । उनले त्यसको श्रेय नेपाल नेत्रज्योति संघलाई जाने समेत बताए ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारले जिल्ला अस्पताल देखि माथिका अस्पतालहरुमा आँखाको छुट्टै युनिट स्थापना गरेर आँखा स्वास्थ्यलाई सरकारी सेवामा समेत ल्याउने तयारी भएको बताए । उनले आँखा उपचारमा नेपाल विश्वमै चिनिएको भन्दै ट्रकोमा निवारण गर्ने नेपाल पहिलो मुलुक भएको बताए । उनले नेपाल नेत्रज्योति संघसंग थप सहकार्य गरेर सरकार अघि बढने विश्वास दिलाए ।
कार्यक्रममा आँखा बा का नामले परिचित एवं नेत्रज्योति संघका संस्थापक प्राडा रामप्रसाद पोखरेलले आँखा स्वास्थ्य सेवा सुरुवात गर्दाका क्षणहरु र अहिले नेपालले हासिल गरेका उपलव्धीको चर्चा गरे । बार्षिक ८० हजार बढी आँखाको शल्यक्रिया हुँदा ३० हजार नेपाली र ५० हजार भारतीयको हुने गरेको भन्दै यसले पनि नेपालको आँखा क्षेत्र कति सफल र विश्वास योग्य छ भन्ने कुराको यथार्त चित्रण भएको बताए ।
कार्यक्रममा नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतनाथ पन्त, कार्यकारी निर्देशक शैलेशकुमार मिश्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा डीएन साह, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आँखा स्वास्थ्यको क्षेत्रमा नेत्रज्योतिसंघले गरेको कामको चर्चा गर्दै थप योजनाहरु सुनाएका थिए ।
बार्षिक २१ लाख बढीको आँखा उपचार

संघले पछिल्लो एक वर्षमा मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रका माध्यमबाट २१ लाख २३ हजार ३८० जनाको आँखा जाँच तथा उपचार गरेको बताएको छ । यस्तै सोही अवधीमा २ लाख ५ हजार १२२ जनाको आँखाको विभिन्न शल्यक्रिया गर्न सफल भएको महासचिव भरतवहादुर चन्दले जानकारी दिए ।
संघले विश्व स्वास्थ्य संगठनको मापदण्डको आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको बारेमा जानकारी लिनका लागि रेपिड एसिसमेन्ट व्लाइन्ड सर्भे गरेको थियो । उक्त सर्भेका अनुसार नेपालमा अन्धोपन सन् १९८१ को झण्डै ०.८४ प्रतिशतबाट घटेर सन् २०११ मा ०.३५ प्रतिशत र सन् २०२० मा त्यो भन्दा पनि घटेर ०.२८ प्रतिशतमा झरेको थियो ।
विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान

यसैबीच बार्षिक उत्सवको अवसर पारेर संघले आँखा क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरेको छ ।
आँखा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालयलाई विशेष सम्मान गरिएको छ । मुख्य मन्त्री कार्यालयका सचिव मनमाया पंगेनी भट्टराईलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरे ।
यस्तै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, पाल्पामा सेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे), विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताल, सीबीएम नेपालका कन्ट्री डाइरेक्टरर सुरज सिग्देल, अर्बिट इन्टरनेशनलका अभिसेककुमार झालाई समेत सम्मान गरिएको थियो ।
यस्तै संघमा लामो समय काम गरेको भन्दै दीर्घसेवा पदकबाट नेत्र सहायक भोलानाथ नेपाल र सवारी चालक देवबहादुर बुढाथोकीलाई समेत सम्मान गरिएको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



