गजेन्द्रनारायणसिंह अस्पतालको गेटमा सुत्केरी भएको विषयमा स्थलगत अनुगमन गरी फर्कियो काउन्सिल र विभागको टोली

काठमाडौँ, २८ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मुल गेट नजिकै सुत्केरी भएको घटनाको बास्तविकता बुझ्न भन्दै पुगेको नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य सेवा विभागको टोली काठमाडौँ फर्किएको छ ।
घटनाको विषय स्थलगत रुपमा अवलोकन गर्ने तथा घटनासंग सम्वन्धीत व्यक्तिसंग जानकारी लिई टोलीले अहिले प्रतिवेदन तयार गर्न थालेको छ ।
‘हिजो राती फर्कियौँ । अब हामी प्रतिवेदन तयार गर्ने काममा लागेका छौँ । प्रतिवेदनले सबै कुरा स्पष्ट पार्नेछ,’ काउन्सिलको नेतृत्व गरेर राजबिराज पुगेका रजिष्ट्रार डा सुप्रभात श्रेष्ठले भने ।
उनले घटनाको विषयमा विभिन्न कोणबाट हेरिएको र कमजोरीहरु पनि भिन्न भिन्न किसिमका रहेको बताए ।
गत बुधबारको घटना सार्वजनिक भएपछि स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा काउन्सिलबाट डा श्रेष्ठको नेतृत्वमा डा अजय शाह, डा रविन बस्नेत लगायतको टोली तथा विभागबाट डा पवनजंघ रायमाझीको नेतृत्वमा टोली राजविराज पुगेको थियो ।
सुत्केरीका लागि लगिएकी बविताकुमारी पासवानलाई डिउटीमा रहेका स्वास्थ्यकर्मीले केही चेक गर्नुपर्ने भन्दै पठाएपछि उनी बाहिरिएको र गेटमा बच्चा जन्मिएको बताइएको छ ।
अहिले अस्पताल प्रशासनले त्यस दिन डिउटीमा रहेका चिकित्सक र नर्स देखि सुरक्षा गार्डसम्मलाई कामकाजबाट हटाएको जनाएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



