१५ महिना देखि १५ वर्ष उमेर समूहका ७५ लाख बालबालिकालाई टाइफाइडबिरुद्धको खोप दिईंदै
अर्को महिना देखि नियमित खोपको सूचीमा टाइफाइडविरुद्धको खोप पनि थपिने
काठमाडौँ, १२ चैत । सरकारले १५ महिना देखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडबिरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयको योजना अनुसार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी २५ चैत देखि १८ बैशाखसम्म तोकिएको उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप दिने भएको हो ।
‘हामीले १५ महिना पुगेका र १५ वर्ष ननाघेका सबै बालबालिकाका लागि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेका छौँ । यो उमेर समूहका बालबालिकाको संख्या करीब ७५ लाख रहेको छ,’ परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले भने ।
उनले ती बालबालिकाहरुलाई स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइएको जानकारी दिए ।
उनले खोप अभियान सकिएको अर्को महिना देखि यो खोपलाई नियमित खोपको सूचीमा राखेर १५ महिना पुगेका बालबालिकाहरुलाई दिन सुरु गरिने समेत बताए ।
यता स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिईदै आएको भए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको बताए । उनले अहिले खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको बताए ।
टाइफाइ रोग भनेको के हो ?
टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।
यो रोगको लक्षण के के हुन् ?
उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिव्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ । कसैकसैलाई पेट दुख्ने, पखला लाग्ने , वाकवाकी लाग्ने , भोक नलाग्ने, शरीरमा रातो विमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ । यो रोगको संक्रमणबाट केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्वन्धी जटिलता समेत देखा पर्न सक्छन् ।
सम्पर्क इमेल : [email protected]
Good job
Think