पोखरामा पनि सञ्चालनमा आयो ‘रोटरी-कान्तिपुर डेन्टल सेन्टर’

पोखरा, ७ चैत । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा कास्कीको पोखरा महानगरपालिकामा ‘रोटरी-कान्तिपुर डेन्टल सेन्टर’ सञ्चालनमा आएको छ ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा रोटरी क्लव अफ काठमाडौं नर्थ डिस्ट्रिक ३२९२, बीएम फाउन्डेशन, रोटरी क्लव अफ उकु जिङजोङ ताइवान आर आई डिस्ट्रिक ३४९० र रोटरी इन्टरनेशनलको आर्थिक तथा केडीसीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका -२७ तालचोकमा रोटरी कान्तिपुर डेन्टल सेन्टर सञ्चालनमा आएको हो ।
आइतबार पोखरामा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै रोटरीयन एवं केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले रोटरीको ग्लोबल ग्राण्ड प्रोजेक्ट अन्तर्गत पोखरामा डेन्टल सेन्टर सञ्चालनमा आएको बताए ।

यो सेन्टर सञ्चालनका लागि कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले दुई वर्षसम्म निशुल्क जनशक्ति (इन्टर्न डाक्टर, डेन्टल हाइजेनिष्ट) व्यवस्थापन गर्नेछ । डा. श्रेष्ठले यहि प्रोजेक्ट अन्तर्गत देशको विभिन्न स्थानमा चार वटा सेन्टर सञ्चालनमा ल्याएको समेत जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पुरन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कान्तिपुर डेन्टल पोखराको सिइओ प्रतिकमान श्रेष्ठ, रोटरीक्लव अफ लेखनाथका प्रेसिडेन्ट मिलनप्रसाद तिवारी, रोटरी क्लव पोखरा न्यूरोडका पाष्ट प्रेसिडेन्ट प्रेमप्रसाद शर्मा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




