नेपालमा कुल जनसंख्याको झण्डै १९ प्रतिशतमा कानको समस्या

काठमाडौँ, २० फागुन । नेपालमा कुल जनसंख्याको १८.८ प्रतिशतमा कानको समस्या रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखाले गरेको बेसलाईन सर्भेबाट तथ्याङ्क निस्किएको हो ।

सो शाखाले गत वैशाख र साउनमा गरी दुई चरणमा उक्त सर्भे सिध्याएको थियो । सर्भेमा सात वटै प्रदेशका २८ जिल्लाका समुदाय र विद्यालय गरी कुल १७ हजार ५९ जना सहभागी थिए ।

शाखाका प्रमुख डा प्रकाश बुढाथोकीका अनुसार उक्त सर्भेले सबैभन्दा बढी कान सम्वन्धी समस्या लुम्बिनी प्रदेशबासीमा रहेको देखाएको छ । त्यहाँ कान सम्वन्धी स्वास्थ्य समस्या भएका २४.८ प्रतिशत जनता छन् ।

सर्भेबाट कानसम्वन्धी समस्या मुस्लिम धर्मावलम्बीमा बढी भएको पाइएको छ । यस्तै कान रोग १८ बर्षमुनिका अर्थात विद्यालय उमेरका बालबालिकामा १.२२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम ०.९४ गुणा बढी छ ।

डा. बुढाथोकीका अनुसार कान सम्वन्धी जोखिममा रहनेहरुमा एलर्जी राईनाईटिस, दम, धुम्रपान तथा मदिरा प्रयोगकर्ता,लामोसमय अस्पताल भर्ना तथा लामोसमय चर्काे ध्वनीमा रहेकाको रहेका छन् । यस्तै कानेगुजी भई समस्या भएका ४८ प्रतिशत, अट्राईटिस मेडिया भएकामा १२.८ प्रतिशत समस्या देखिएको छ । उनले सर्भेको बिस्तृत बिश्लेषण आगामी दुई महिना भित्र आईसक्ने बताए ।

कान सम्वन्धी समस्या किन बढ्यो ?
डा बुढाथोकीले कान सम्वन्धी समस्याको बढोत्तरी हुने कारण विविध भएको प्रष्ट्याए । नागरिकको बा“च्ने उमेरमा बढोत्तरी हुनु, कानको सक्रमणको समयमै उपचारको पहुच नहुनु,प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्काे ध्वनीमा लगातार लामो समयसम्म काम गर्ने लगायतका कारण रहेको उनी बताउँछन् ।

उनले बच्चा जन्मेदेखी शुरुमै कानको परीक्षण तथा श्रबण परीक्षण गर्नसके ६० प्रतिशत श्रबण अशक्तता रोक्न सकिन्छ भन्दै उनले अन्यलाई पनि अपांग भत्ता दिनमा भन्दा हेरिङ एड र कक्लिएर ईम्प्लान्ट सेवामा पहुच पुर्याउनु पर्ने बताए ।

राष्ट्रिय जनगणना २०६८ ले अपांगता भएकामध्ये १५.४ प्रतिशत श्रबणसम्बन्धी र ११.५ प्रतिशत बोली सम्बन्धी समस्या भएको देखाएको थियो । पछिल्लो जनगणना २०७८ को विस्तृत विवरण भने आउन बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *