नेपालको कोभिडविरुद्धको खोप अभियान :

अमेरिकाबाट ९२ लाख डोज फाइजर र चीन सरकारबाट ४० लाख डोज साइनोभ्याक खोप आउँदै

काठमाडौँ, १९ फागुन । कोभिडविरुद्धको खोप अभियानलाई सघाउन अमेरिकी सरकारले नेपाललाई थप ९२ लाख डोज फाइजर खोप अनुदानमा उपलव्ध गराउने भएको छ ।

यसअघि ६२ लाख खोप फाइजर उपलव्ध गराउने बताएको अमेरिकाले पछिल्लो पटक थप ३० लाख डोज थप्दै ९२ लाख पठाउने भएको हो । ‘अमेरिकी सरकारले नेपाललाई कोभ्याक्स सुविधा मार्फत ९२ लाख डोज फाइजर पठाउने तय भएको छ । यसको पहिलो खेप १५ लाख तीन साता पछि (मार्चको तेस्रो साता) र दोस्रो खेप अप्रिलको दोस्रो साता आउँदैछ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भने ।

उनले बाँकी खोपहरु क्रमश पठाउने समेत उनले जानकारी दिए । अमेरिकाबाट आउने यो खोप १२ वर्ष माथिका नागरिकलाई दिने योजना स्वास्थ्य सेवा विभागले गरेको छ ।

चीनबाट ४० लाख साइनोभ्याक आउँदै

यसैबीच चीनले अनुदान सहयोगमा नेपाल सरकारलाई ४० लाख डोज साइनोभ्याक खोप पठाउने भएको छ । यो खोप नेपालमा पहिलो पटक आउन लागेको हो । यसअघि चीनबाट अनुदान तथा खरीदमा गरी ठूलो मात्रामा भेरोसेल खोप आएको थियो ।

‘यसपटक चीनले भेरोसेल जस्तै अर्को खोप साइनोभ्याक पठाउने भएको हो । यो पनि अनुदान सहयोगमा हो । खोप आउने तय भएको छ तर लिनका लागि नेपालबाटै जहाज जानु पर्ने भएकोले त्यसको तयारी हुँदैछ,’ चौरसियाले भने ।

त्यसो त सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिनका लागि ८४ लाख डोज फाइजर खोप खरीदको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । स्वास्थ्य सेवा विभागले कम्पनीसंग आवश्यक नेगोसिएसन गरेपछि अहिले प्रस्ताव मन्त्रालय पठाएको छ ।

ठूलो मात्रामा खरीद गर्नुपर्ने भएकोले त्यस सम्वन्धी अन्तिम निर्णय मन्त्रिपरिषदको बैठकबाटै गराउने योजनामा मन्त्रालय लगाएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मार्च महिना भित्र बालबालिकालाई दिने खोप आउने बताए । उनले चैत भित्र १८ वर्ष माथिकाले र बैशाख भित्र १२ वर्ष माथिकाले कोभिडविरुद्धको पूर्ण खोप पाउने दावि गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *