माननीयहरुलाई महामारीबारे सिकाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ फागुन । प्रतिनिधि सभाको बैठक सञ्चालन भएपनि हिजो आज राष्ट्रिय सभाको बैठक चलेको छैन् तर अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको व्यस्ततामा भने कमी देखिएको छैन् ।

बैठक चलेको प्रतिनिधि सभामा सभामुख देखि सदस्यहरु मुल मुद्धा राजनीतिमा केन्द्रीत देखिन्छ तर, राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले आफ्ना सदस्यहरुलाई स्वास्थ्यको महामारीबारे प्रशिक्षण दिलाउन व्यस्त छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, राष्ट्रिय सभाको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा बुधबार राजधानीमा भएको ‘कोभिड- १९ विरुद्धको खोप सम्वन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी आफ्ना सदस्यहरुलाई अध्यक्ष तिमल्सिनाले भने, ‘स्वास्थ्यको मुद्धा स्वास्थय मन्त्रालय र स्वास्थ्यकर्मीको मात्रै हो भन्ने मान्यतालाई चिर्न आज जनप्रतिनिधिहरुलाई बोलाएर यसबारे प्रशिक्षण तथा छलफल गरिएको हो ।’

उनले जनप्रतिनिधि भन्ने वित्तिकै राजनीतिक विषय बस्तुमा मात्रै बोल्नुपर्छ भन्ने मान्यता अब पुरानो भएको भन्दै स्थानीय तहसम्म जनताका बीचमा पुग्ने पुग्ने जनप्रतिनिधिले अब स्वास्थ्यका विषयमा पनि कुरा गर्नुपर्ने बताए । उनले गतवर्ष स्पेनको म्याड्रिटमा भएको इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को १४३ औँ बैठकमा जनप्रतिनिधिहरुले अब स्वास्थ्यका मुद्धालाई प्राथमिकताका साथ उठाउनु पर्ने भन्ने निर्णय भएको र यसै महिना ईन्डोनेसियाको बालीमा हुन लागेको आईपीयूको १४४ औँ बैठकमा नेपालका जनप्रतिनिधिले गरेका स्वास्थ्य सम्वन्धी उदाहरणीय कामहरुबारेमा प्रस्तुतिकरण गर्ने बताए ।

राष्ट्रिय सभाले आफ्ना माननीय सदस्यहरुलाई यसअघि पनि राखेको थियो । केन्द्रमा मात्रै होइन प्रदेश तहमा पनि यस्तो बैठक आयोजना गरेको थियो । तर, एकैपटक सबैलाई सम्भव नभएकोले चरणवद्ध रुपमा यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष तिमल्सिनाले प्रष्ट्याए ।

‘यसअघि हामीले विदा हुँदै गर्नु भएका माननीयहरुलाई कोभिड महामारी र खोपका विषयमा छलफल गर्‍यौ, आज नव निर्वाचित र म्याद दुई वर्ष बाँकी रहेका माननीयहरुलाई यो छलफल राखेको हो’ उनले भने ।

उनले जनप्रतिनिधिहरुले कोभिड महामारीबाट बच्ने उपायहरु, हात धुने, मास्कको सही प्रयोग गर्ने, दुरी कायम गर्ने कुरा जस्तै कोभिडविरुद्धको खोप र यसका प्रभावकाबारेमा स्थानीय तहमा जाँदा बोल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडाले स्वास्थ्य सम्वेदनशील र प्राविधिक विषय भएको महामारी जुनसुकै बेला आउन सक्ने भएकोले अब स्वास्थ्यका एजेन्डामा जनप्रतिनिधि लाग्नुपर्ने बताए । उनले सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएका नीति लागू गर्नका लागि जनप्रतिनिधिमार्फत अझ सहज हुने भएकोले पनि यो खालको छलफल राखिएको बताए । मन्त्री खतिवडाले १८ वर्ष माथिकाले चैत भित्र र १२ वर्ष माथिका सबैले बैशाख भित्र पूर्ण खोप पाउने दावी गरे । उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले पनि अब छिटैनै कोभिडविरुद्धको खोप पाउने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मन्त्रालयले स्वास्थ्यका विषयमा जनप्रतिनिधिहरुले आम सर्वसाधारणलाई महत्व बुझाई दिदा त्यसको प्रभावकारी बढी हुने भनेर नै कार्यक्रम राखिएको बताए । उनले जनप्रतिनिधिले नीतिगत रुपमा पनि स्वास्थ्यलाई विशेष रुपमा हेर्नुपर्नै बताए ।

‘हामीले स्थानीय तह (सबै पालिका) मा ५, १० र १५ वेडको अस्पतालहरु बनाइरहेका छौँ । अब त्यसका लागि पनि दरबन्दी चाहियो । अहिलेकै कुरा गर्ने हो भने १५ हजार बढी स्वास्थ्यको दरबन्दी चाहिएको छ । सेवा दिनका लागि जनशक्ति त आवश्यक हुन्छ नै, यसका लागि पनि यहाँहरुले पहल गरिदिनु पर्छ,’ उनले भने । सचिव पोखरेलले कोभिड नियन्त्रणका लागि मन्त्रालयले गरेका प्रयास र उपलव्धीका बारेमा समेत माननीयहरुलाई बताएका थिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले नेपाल एउटा प्रकोप संवेदनशील राष्ट्र भएपनि यसको सुव्यवस्थित प्रकोप व्यवस्थापक संयन्त्र र तालिम प्राप्त प्रकोप व्यवस्थापकहरु हुँदा सजिलो भएको बताए । उनले कोभिड–१९ वा इन्फ्लुएन्जा महामारी जस्ता प्रकोपहरुको रोकथाम गर्न, पत्ता लगाउन र प्रतिकार्य गर्नका लागि आवश्यक पर्ने प्रतिरक्षा कार्यक्रमहरुलाई राज्यद्वारा थप, दिगो, र अनुमानयोग्य रुपमा आर्थिक स्रोत प्रदान गर्न जरुरी भएको बताए ।

उनले कोभिड—१९ महामारीको शुरुवाती चरणमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोसले यो महामारीको प्रतिकार्यका लागि नेतृत्व तथा सुशासनको महत्वलाई प्रकाश पारेको स्मरण गर्दै समाज, देश, प्रदेश तथा शहरहरुले कोभिड–१९ ले सिकाएका पाठहरुलाई मनन गर्न र समाधानहरुको विकास गर्नका लागि सांसद तथा संसदहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रा, सहप्रवक्ता डा समिरकुमार अधिकारी लगायतले कोभिड महामारी न्युनिकरणका लागि गरिएको प्रयास र खोप कार्यक्रमका उपलव्धी बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा राष्ट्रिय सभाका सांसदहरुसंग कोभिड महामारी, कोभिडविरुद्धको खोप तथा यसका आयामहरुको बारेमा प्रशिक्षण, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *