दुई वर्ष भित्र खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट २ प्रतिशतमा झार्ने सरकारको लक्ष्य

विज्ञ भन्छन्, 'सम्भव छ तर सबै मिलेर अलि बढी मिहनेत गर्नुपर्छ'

काठमाडौँ, १६ फागुन । सरकारले अबको दुई वर्ष भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम गर्ने महत्वकांक्षी लक्ष्य अघि सारेको छ ।

गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्य योजना २०२१-२५ मा यस्तो व्यवस्था समेटिएको छ ।

सो कार्य योजनाको एउटा बुँदामा सन् २०२३ भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य रहेको उल्लेख छ ।

शुक्रबार नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्धारा आयोजना गरेको ट्रान्सफ्याट सम्वन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नसर्ने रोगको प्रमुख कारकहरु मध्येको एक ट्रान्सफ्याट प्रयोगलाई न्युनिकरण गर्न नीतिगत रुपमा प्रयास भईरहेको बताए । उनले माघको अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले नसर्ने रोगहरु नियन्त्रण सम्वन्धी बहुपक्षीय कार्ययोजना पास गरेको र त्यसमा ट्रान्सफ्याटका केही बुँदाहरु समेटिएको बताए ।

डा. पोखरेलले यसैलाई टेकेर नयाँ ऐन तथा नियम बनाउनु पर्ने र त्यसलाई लागू गर्नु पर्ने जिम्मेवारी आएको बताए । उनले कुल मृत्युको ७० प्रतिशत नसर्ने रोग कारक भएको भन्दै त्यसलाई न्युनिकरण गर्न आफ्नो मन्त्रालयले नसर्ने रोग नियन्त्रण सम्वन्धी गतिविधिलाई जोड दिएको बताए । डा. पोखरेलले ट्रान्सफ्याटको विषयमा जनचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल हृदयरोग प्रतिष्ठानका कार्यक्रम निर्देशक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले हृदयघात, क्यान्सर, मधुमेह, मिर्गौला जस्ता नसर्ने रोग गराउने प्रमुख कारक तत्वमध्ये ट्रान्सफ्याट एक महत्वपूर्ण रहेको बताए ।

‘यसअघिसम्म धूमपान, मध्यपान, शारीरिक व्यायम लगायतका कुरा नसर्ने रोगको प्रमुख कारक हो भन्ने गर्दथ्यौँ तर अब त्यो सूचीमा ट्रान्सफ्याट पनि आएको छ । यसबारेमा आम जनमानसले बुझ्नु पर्ने जरुरी भएको छ । त्यसैले ट्रान्सफ्याटको नेपाली नाम अति खराव चिल्लो (अखचि) राखेका छौं,’ डा. रेग्मीले भने ।

उनले अखचीका कारण विश्वमा वर्षेनी ५ लाख बढी व्यक्तिको ज्यान जाने गरेको भन्दै त्यसलाई जोगाउन पनि ट्रान्सफ्याट युक्त खानेकुरा बहिस्कार गर्न सल्लाह दिए ।

कार्यक्रममा ट्रान्सफ्याट इलिमिनेशन पोलिसी एड्भोकेसी परियोजनाका कार्यक्रम निर्देशक एवं मुटुरोग सर्जन डा. प्रेमराज बैद्यले ट्रान्सफ्याटले रगतमा हुने खराब कोलेस्टेरोलको मात्रालाई झन् झन् बढाई दिन्छ र रक्तनलिभित्र रगत जम्ने प्रकृयालाई बढावा दिने बताए । उनले खसी बाख्रा जस्ता चौपायाँको रातो मासु र गाई भैसींको दुधमा हुने प्राकृतिक ट्रान्सफ्याटले खासै हानी नगरे पनि उद्योगबाट उत्पादन हुने कृतिम ट्रान्सफ्याटले धेरै हानी गर्न सक्ने बताए । डा वैद्यले बनस्पति तेललाई धेरैवेर वा धेरै पल्ट तताउँदा त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ र त्यसरी पकाएको खानेकुरा हानीकारक हुने बताए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले खाद्य सुरक्षाका लागि विभागले गर्दै आएका कामबारे जानकारी दिए । उनले कसरी खाना पकाउने र कसरी खाने भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै विभागले बजारमा ट्रान्सफ्याटयुक्त खानेकुराबारेमा अनुगमन गरिरहेको बताए । उनले व्यक्ति आफै पनि सचेत हुन आग्रह गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले नसर्ने रोगको प्रमुख कारक ट्रान्सफ्याटलाई नियन्त्रण गर्न व्यक्ति, परिवार समाज लाग्नुपर्ने बताए । उनले यसबारेमा जनचेतना जगाउन पनि आवश्यक रहेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *