ओमिक्रोन भेरियन्ट देखिएका दुबै विदेशी नागरिकको कोरोना नेगेटिभ

काठमाडौँ, २१ मंसिर । नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार गरिएको कोभिड -१९ परीक्षणमा ६६ र ७१ बर्षीय दुई विदेशी नागरिकको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सोमबार ओमिक्रोन भेरियन्ट पुष्टी भएका दुई विदेशी नागरिकको मंगलबार परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।

‘उनीहरु होटल क्वारेन्टिनमा थिए, स्वास्थ्य अवस्था सामान्य थियो । उनीहरुबाट लिइएको नमूनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट देखिएको थियो । त्यसको जानकारी मन्त्रालयले सोमबार मात्रै गराएको थियो । तर आज उनीहरुको नमूना परीक्षण गर्दा कोभिड रिपोर्ट नेगेटिभ आयो । उनीहरु मात्रै होइन । उनीहरुसंग सम्पर्कमा आएका ७८ जनाको परीक्षण गर्दा पनि कोभिड नेगेटिभ आयो । त्यसैले अहिलेलाई नेपाल नयाँ भेरियन्ट मुक्त छ भन्न सकिन्छ,’  प्रवक्ता डा पौडेलले भने ।

यी दुई जनामा ओमिक्रोन भेरियन्ट कसरी भेटिएको थियो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित भएका ६६ बर्षीय व्यक्ति ओमिक्रोम देखिएको मुलुकबाट गत ३ मंसिरमा हवाईबाटो हुँदै नेपाल छिरेका थिए ।

नेपाल छिर्दा नियमानुसारको पीसीआर रिपोर्ट तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । तर, ७ मंसिरमा ६६ वर्षीय ती व्यक्ति र उनीसंग सम्पर्कमा आएका ७१ वर्षका अर्का व्यक्तिमा कोभिड १९संग मिल्दा जुल्दा लक्षण देखिएको थियो ।

त्यसपछि परीक्षण गराउँदा कोभिड पोजेटिभ देखिएको थियो ।

पछि उनीहरु दुवैको नमूना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला जीन सिक्वोन्सिङ गर्दा उनीहरुमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

उनीहरु दुबै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वाथ्य लाभ गरेको र उनीहरुमा कुनै लक्षण देखिएको थिएन । त्यसपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अग्रसरतामा नयाँ भेरियन्ट पुष्टि भएकाको सम्पर्कमा आएको ७८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गरिएको थियो । तर ती सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना भाइरसमा नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोम पहिलो पटक २४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *