अब देशैभर १८ वर्षभन्दा माथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाइने

काठमाडौँ, ६ मंसिर । सरकारले अब देशैभर १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ ।

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए ।

उनले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरे । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौंका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताए ।

उनले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको बताए । उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ ।

यसैगरी उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि हिजोदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताउए । उनले शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ । फाइजर खोप अभियान भोलिसम्म सञ्चालन हुने छ ।

यसैगरी सबै गर्भवती महिलालाई पनि खोप लगाउन सुरु गरिएको छ । यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाउने गरेता पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *