योग स्वस्थ जीवनका लागि उत्तम माध्यम होः प्रधानमन्त्री देउवा

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन् ।

पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गरेको अनुसन्धान, प्रचार र योगदानको सराहना गरेका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिएका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले बाबा रामदेब र आचार्य बालकृष्णलाई ठूलो क्रान्तिकारी भएको बताएका थिए ।

साथै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आयुर्वेद औषधि र प्राकृतिक चिकित्साको बेग्लै महत्व रहेको उल्लेख गर्दै यो र आधुनिक विज्ञानको संयोजन गरी अघि बढे मानव स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताएका थिए । उनले योग गर्न सुरु गरेपछि आफ्नो स्वास्थ्यमा भएको सुधारको स्मरण गर्दै सबैको जीवनमा योग र साधनाको ठूलो महत्व रहेको बताएका थिए ।

बाबा रामदेवले योग, आरोग्य, प्रणायाम र आयुर्वेद औषधिका लागि नेपाल राजधानीका रुपमा दुनियाँको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरेका थिए । साथै उनले सबै मानिस एक ईश्वरका सन्तान भएको उल्लेख गर्दै सबै प्रकारका भेदभाव हटाएर सबै समान भन्ने भावनाका साथ अघि बढ्न आग्रहसमेत गरेका थिए । आचार्य बालकृष्णले पतञ्जलिका माध्यमबाट नेपालमा गर्न लागेको योजनाबारेमा जानकारी गराएका थिए ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *