दुई महिनाको शिशुमा पौने चार किलोको ट्युमर, कान्ति अस्पतालमा भयो सफल शल्यक्रिया

शल्यक्रिया गर्नु अघि दुई महिनाको शिशु

काठमाडौँ, ३० कात्तिक । दुई महिना अघि जन्मेको एक शिशुमा बढ्दै गएको पौने चार किलो तौलको ट्युमर कान्ति अस्पतालका चिकित्सकहरुलाई शल्यक्रिया गरि हटाईदिएका छन् ।

सप्तरी महादेवीकी सिता देवी सदाले दुई महिना अघि जन्माएको शिशु (छोरा) देखिएको स्याक्रोकक्सीजियल टेराटोमा भन्ने ट्युमर सोमबार करीब २ घण्टा लामो शल्यक्रिया गरि हटाइदिएका हुन् ।

शल्यक्रियाको नेतृत्व गरेका बरिष्ठ बाल शल्य चिकित्सक डा विजय थापाले शल्यक्रिया गर्नु अघि दुई महिना उमेरको सो शिशुको तौल ६ किलो २ सय ग्राम रहेको बताए । शल्यक्रिया गरी ३ किलो ७५० ग्रामको ट्युमर हटेपछि अहिले शिशुको तौल २ किलो ४५० ग्राम रहेको जानकारी दिए ।

उनका अनुसार स्याक्रोकक्सीजियल टेराटोमा भन्ने ट्युमर नवजात शिशुमा देखिने एक खालको दुर्लभ ट्युमर हो । जन्मजात देखिने यो ट्युमर बालकहरुमा भन्दा बालिकाहरुमा बढी देखिन्छ । तर सोमबार शल्यक्रिया गरेको केश भने बालकमा देखिएको हो ।

डा थापाले गर्भवती भएका बेला भिडियो एक्सरे गर्दा पनि यस खालको ट्युमर भएको थाहा हुने भन्दै ज्याला मजदुरी गर्ने परिवारकी सदाले भिडियो एक्सने नै नगरेका कारण पत्तो नभएको जानकारी दिए ।

‘दुई महिना अघि बच्चा नर्मल रुपमा जन्मिएछ, आर्थिक रुपमा विपन्न सो परिवारले गर्भवती भएका बेला भिडियो एक्सरे पनि गरेनछ । जव ट्युमर बढ्दै गयो त्यसपछि मात्रै कान्तिको सम्पर्कमा आइपुग्यो । केही हप्ता अघि आउँदा तत्काल भर्ना गरी शल्यक्रिया गर्नुपर्छ भनेको थिए, तर छट मानेर आउँछौं भन्दै उनीहरु फर्किए, अहिले आएपछि आवश्यक सबै जाँच गरी शल्यक्रिया गरयौं,’डा थापाले भने ।

उनका अनुसार हिजो शल्यक्रिया गरेपछि को आज पहिलो दिन शिशुको अवस्था ठिकै रहेको छ ।

‘अप्रेसन सफल भयो, वच्चाको अवस्था अहिले नर्मल छ । केही दिन अझै राख्नुपर्छ,’ उनले भने ।

शल्यक्रियामा डा अनुपमा थापा बस्नेत, डा सुलोचना दाहाल, डा अनुज कायस्थ, आवासीय चिकित्सकहरु डा प्रनम जैरु र डा विजय श्रीवास्तव खटिएका थिए । यस्तै एनेस्थेसियामा डा संगिता श्रेष्ठ, डा सदिक्षा साह खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *