‘१२-१८ उमेर समूहकालाई लगाउन १ करोड डोज फाइजर र मोडर्ना खोप छिटै आउँदैछ’-स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौँ, ११ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ देखि १८ वर्षका बालबालिकालाई लगाउने कोभिड–१९ विरुद्धको १ करोड डोज खोप छिट्टै आउने बताएका छन्।

मन्त्रालयमा विहीबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा भएको भेटघाट कार्यक्रममा मन्त्री खतिवडाले १२ देखि १८ वर्षका बालबालिकालाई खोप लगाउनका लागि १ करोड खोप छिटै आउने बताएका हुन् ।

‘फाइजर र मोडर्ना गरी १ करोड डोज खोप बुक भईसकेको छ । अब हामी ल्याउने प्रक्रियामा लागिसकेका छौँ । खोप छिटै आईपुग्छ । यसले करीब १२ देखि १८ बर्ष उमेर समूहका करीब ५० लाख बालबालिकालाई खोप लगाउन सकिन्छ,’ उनले भने ।

मन्त्री खतिवडाले चीन र भारतमा १२ वर्ष भन्दा कम उमेर समूहका व्यक्तिलाई लगाउन मिल्ने खोपको पनि दोस्रो चरणको परीक्षण चलिरहेको आफूलाई जानकारी प्राप्त भएको भन्दै त्यसको सम्पूर्ण परीक्षण सकेर विश्व स्वास्थ्य संगठनले मान्यता दिने वित्तिकै ती खोप पनि ल्याउने तयारीमा सरकार रहेको बताए ।

‘एक प्रश्नमा उनले आगामी चैतसम्ममा १८ बर्ष माथि उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप दिने यसअघिको प्रतिवद्धतामा कुनै फेरवदल नभएको बताए । चैतसम्ममा १८ बर्ष माथिकाले पूर्ण खोप पाउने छन् । सरकारले सोही रफ्तारमा काम गरेको तपाईँहरुलाई जानकारी दिन चाहन्छु,’ उनले भने ।

अहिले पनि देशमा करीव तीस लाख डोज खोप स्टक रहेको सुनाए । ‘अहिले खोप लगाईरहेका छौँ । खोप थपिएको थपियै छ । त्यसैले खोपको अभाव हुन्न । चैतसम्म थप दुई करोड खोप आईसक्छ । हामी लक्ष्यमा ढिलाई हुन्नौँ,’ उनले भने ।

मेरो कार्यकालमा ‘भष्टाचार र अनियमितता देख्न सुन्न पाउनु हुन्न’
यसैबीच मन्त्री खतिवडाले आफ्नो कार्यकालमा स्वास्थ्यमा भ्रष्ट्राचार भएको देख्न र सुन्न नपर्ने दावी गरेका छन् । उनले भने, ‘विगतको समयमा महामारीकै बेलामा भ्रष्ट्राचारका ठूला खवरहरु छापिए, मेरो कार्यकालमा कम्तिमा तपाईले यस्ता खबर देख्न लेख्न र सुन्न पाउनुहुन्न भन्ने मेरो अठोट छ ।’

स्वास्थ्य मन्त्री बन्छु भनेर आफ्नो कुनै पूर्व तयारी नभएको भन्दै अहिलेकै भइरहेका कार्यलाई थप व्यवस्थित गरेर अघि बढ्ने बताए ।

स्वास्थ्यकर्मीको जोखिम भत्ताको लागि अर्थसग ४५ करोड माग
स्वास्थ्य मन्त्री खतिवडाले सरकारले घोषणा गरेको स्वास्थ्यकर्मीको जोखिम भत्ता छिटै उपलव्ध हुने बताए । उनले भत्ताकै लागि ४५ करोड रुपैयाँ माग गरिएको समेत जानकारी दिए । ‘जोखिम भत्ता नपाएको भन्दै धेरै गुनासाहरु आएको छ । हामीले पनि ४५ करोड माग गरेका छौँ । अर्थबाट निकासा भइसकेको छैन् । उताबाट निकासा हुनासाथ नपाएका स्वास्थ्यकर्मीहरुले भत्ता पाउनुहुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *