लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय : गठन भएको साढे छ महिनामा चार मन्त्री फेरिए

काठमाडौँ, २५ असोज । गत ६ बैशाखमा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय गठन गरेका थिए ।

त्यसबेला आन्तरिक मामिला तथा कानून मन्त्री रहेका लीला गिरीलाई स्वास्थ्य मन्त्रालय हेर्ने जिम्मेवारी दिईएको थियो । त्यसको दुई साता पछि अर्थात १९ बैशाखमा मुख्य मन्त्री पोखरेलले पदबाट राजिनामा दिए र सोही दिन पुर्न नियुक्ति लिएका थिए ।

त्यसबेला दुई दिनको अन्तरमा स्वास्थ्यको दुई जना मन्त्री फेरिएका थिए ।

तत्कालिन समयका मुख्य मन्त्री पोखरेलले आफू पुनर्नियुक्ति हुँदा प्यूठान १(क)बाट निर्वाचित हरि रिजाललाई स्वास्थ्य जनसंख्या तथा समाजकल्याण मन्त्री बनाएका थिए । तर त्यसको दुई दिन पछि अर्थात २१ बैशाखमा उनलाई परिवर्तन गर्दै रुपन्देही २ बाट निर्वाचित भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

दुई महिना अघि लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार ढल्यो र कुलप्रसाद केसी नियुक्त भए तर उनले यो अवधीमा सरकार विस्तार गर्न सकेका थिएनन् । आईतवार उनले सरकारलाई पूर्णता दिदा स्वास्थ्य मन्त्रीको जिम्मेवारी ईन्द्रजित थारुलाई दिएका दिएका छन् ।

दाङ क्षेत्र नं १ (क)बाट निर्वाचित सांसद थारु माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । यसपटक लुम्बिनीमा स्वास्थ्य मन्त्री मात्रै होइन स्वास्थ्य राज्यमन्त्री पनि नियुक्त भएका छन् । दाङ ३ (ख)बाट निर्वाचित विमला खत्री ओली स्वास्थ्य राज्यमन्त्री बनेकी हुन् ।

एमालेका तर्फबाट तत्कालिन समयमा निर्वाचित सांसद उत्तरकुमार ओलीको निधन भएपछि श्रीमती खत्रीलाई तत्कालिन नेकपाले उम्मेद्धार बनाएको थियो । तर उनले एमाले र माओवादी केन्द्र छुट्टिदा आफू माओवादी रोजेको बताएकी थिइन । अहिले माओवादीकै कोटाबाट राज्यमन्त्री बनेकी हुन् ।

कोभिड महामारीका बेला मुख्य जिम्मेवार देखिनुपर्ने मन्त्रालयमा मन्त्रीहरु पटक पटक फेरिने परिपाटीले थप अस्थिरता निम्त्याउने विश्लेषकहरु बताउँछन् । हप्ता पनि नटिक्ने गरी कस्तो निर्णय गरेर मन्त्री तोक्छन् । स्वास्थ्य जस्तो सम्वेदनशील मन्त्रालयलाई यति सस्तो बनाईदिने ? प्रतिप्रश्न गर्दै एक जना स्वास्थ्यविदले बताए ।

लुम्बिनीमा स्वास्थ्यमन्त्रीहरु नटिकेपनि स्वास्थ्य सचिव भने फेरिएका छैनन् । गत २० बैशाखमा लुम्बिनीको स्वास्थ्य जनसंख्या तथा समाजकल्याण मन्त्रालयको कार्यभार सम्हालेका डा विकास देवकोटा अहिलेपनि सोही मन्त्रालयमा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *