बीएण्डसीमा सुरु भयो चिरफारविना टाउकोको शल्यक्रिया सेवा

झापा, २० असोज । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलमा बीना चिरफार टाउकोको शल्यक्रिया उपचार सेवा सुरु भएको छ । इन्टरभेसनल न्युरो सर्जरी भनिने सो विधिबाट टाउकोमा रहेका रगतको नसा फुट्ने (ब्रेन एन्युरिजम)। पक्षघात जस्ता नसा सम्वन्धी समस्याको सहज ढंगले उपचार हुने बताइएको छ ।

‘यसअघि यस्ता समस्या आउँदा टाउको खोलेर (चिरफार गरी) उपचार गर्नुपर्दथ्यो । तर अब रगतको नलिबाट भित्रभित्रैबाट क्याठेतर हाल्छौँ र मस्तिष्कसम्म पुर्‍याउछौं । त्यसबाट रोग पत्ता लगाउने देखि उपचार गर्ने सम्मको काम हुन्छ । अत्याधुनिक यो विधिले बिरामीलाई सजिलोसंग सुरक्षित ढंगले छिटो उपचार गर्न सजिलो हुन्छ र जोखिम पनि कम हुन्छ, ‘ मंगलबार बीएण्डसीमा गरिएको पत्रकार सम्मेलनमा न्युरो सर्जन डा करुणा ताम्राकारले भनिन् ।

उनका अनुसार इन्टरभेसनल न्यूरो सर्जरी विधिका लागि आवश्यक सामग्री बाहिरबाट झिकाउनुपर्ने भएकाले सुरुमा खर्चिलो देखिए पनि उपचार थालेपछि बिरामीलाई तत्काल डिस्चार्ज गर्न सकिने, बिना चिरफारले जोखिम कम हुने र बिरामी तथा उनका आफन्तले लामो समय हस्पिटलमै बस्नुपर्ने बाध्यता हुने छैन ।

टाउकोमा रहेका रगतको नशा फुट्ने (ब्रेन एन्यूरिजम), पक्षघात, मस्तिष्कघातजस्ता नशासम्बन्धी रोगका लागि बिना चिरफारको अप्रेसन बिएन्डसी हस्पिटलमा सम्भव भएकाले नयाँ आयाम थपिएको डा. ताम्राकारको दाबी छ ।

उनले काठमाडौँबाहेक पूर्वाञ्चलको बिर्तामोडमा मात्र यो उपचार रहेको पनि दाबी गरिन् ।

नशा फुटेर आउने समस्याजस्ता घटना भएको ४ घण्टाभित्र हस्पिटल ल्याउन सके उपचार सहज हुने उनले बताईन । तर, ठुलो समस्या भएपछि र समय बितेपछि मात्र बिरामी उपचारका लागि हस्पिटल आउने गरेको उनको अनुभव छ ।

रक्तनलीमा उच्च रक्तचापका कारण बेलुनजस्तो फुल्ने र जतिखेरै पनि फुट्ने सम्भावना अधिक भएकाले पनि यसको समयमै परीक्षण गराउन उनको सुझाव छ ।  यस्तो समस्या हरेक ५० जनामध्ये १ जनामा रहेको तथ्यांक उनले प्रस्तुत गरिन् ।

पक्षघात भएका बिरामीलाई समयमै हस्पिटल ल्याएको खण्डमा अप्रेसन नगरी औषधिको प्रयोगबाट पनि निको पार्न सकिने चिकित्सकले बताएका छन् । समयमै ल्याए कुनै अंगभंग नहुने, साधारण व्यक्तिजस्तै बिरामीले हिँडडुल गर्ने र बोल्न सक्ने औषधिकै प्रयोगबाट हुने बताइएको छ ।

बीएण्डसीमा हालसम्म १०७ जनाको एन्जिओग्राफीको माध्यमबाट परीक्षण गरिएको र जसमध्ये १२ जनाको बिना चिरफार सफल अप्रेसन गरिएको पनि डा.  ताम्राकारले जानकारी दिइन् ।

कार्यक्रममा कार्यकारी निर्देशक दुर्गा प्रसाईले न्यूरो सर्जरीको सवालमा अमेरिका र युरोपमा हुने गुणस्तरीय सेवा बीएण्डसीमा सम्भव भएको बताए । उनले अबको योजना बीएण्डसीमै मुटु, फोक्सो र मिर्गौला प्रत्यारोपण गर्ने रहेको पनि सुनाए ।

यसैबीच, दसैँको समयमा पनि अन्य समयमा जस्तै बीएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको ओपीडी सेवा सञ्चालन हुने हस्पिटलका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *