जनगणनासंगै मातृमृत्युको कारण खोज्दै सरकार
काठमाडौं, ६ असोज । आगामी २५ कात्तिक देखि ९ मंसिरसम्म हुने राष्ट्रिय जनगणनाका बेला मातृमृत्युकोको समेत सुक्ष्म अध्ययन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनगणनाका लागि घरदैलो गरिरहेका गणकसंग समन्वय र स्थानीय स्वास्थ्यकर्मीहरुलाई प्रयोग गर्दै मातृमृत्युको सुक्ष्म अध्ययन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलका अनुसार राष्ट्रिय जनगणना २०७८ मा आधारित रहेर मातृ मृत्यु अध्ययन गरिदैछ । त्यसका लागि मन्त्रालयले छुट्टै कार्यविधि बनाईसकेको छ ।
सो कार्यविधि अनुसार प्रत्येक घरमा पुग्ने गणकले अन्य विवरणसंगै पछिल्लो १२ महिना ( ३६५ दिनमा) प्रजनन उमेर समूह (१५ देखि ४९ बर्ष)का महिलाहरुको मृत्यु भएको छ कि भनेर पनि सोध्ने गर्दछ ।
कार्यविधि अनुसार यदि सो उमेर समूहको महिलाको मृत्यु भएको रहेछ भने गणकले मोवाइल म्याजेज मार्फत त्यसको जानकारी स्थानीय तालिमप्राप्त स्वास्थ्यकर्मीलाई दिन्छ । सो जानकारी पाएको स्वास्थ्यकर्मीले गणक र स्थानीय परिवारलाई सम्पर्क गरी थप सूचना लिएर मातृ मृत्यु सूचित फारमको विवरण मोवाइल एपमा प्रविष्टि गर्छ । उता गणकले भरेको फारम तथ्यांक विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलव्ध गराउने छ । त्यसबीचमा स्थानीय स्वास्थ्यकर्मीले मृत्यु भएकाको घरमै गएर भर्वल अटप्सी फारम भर्नेछ ।
‘मातृमृत्युको अवस्था कस्तो रहेछ ? देशभरीकै एकिन तथ्यांक लिन खोजिएको हो । अध्ययन गर्न खोजिएको हो,’ सहसचिव पोखरेलले भने ।
उनका अनुसार गणकसंग समन्वय गर्न देशभरका स्थानीय तहमा जनसंख्यामा आधारित रहेर १ देखि ४ जनासम्म स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ । करीव १ हजार जना त्यस्ता स्वास्थ्यकर्मीले जनगणनाको अवधीमा गणकसंग समन्वय गर्ने, विवरण राख्ने पठाउने र भर्वल अटप्सी भर्ने लगायतका कामहरु गर्नेछन् ।
सो सम्वन्धी प्रशिक्षणका लागि मन्त्रालयले अहिले सातवटै प्रदेशबाट ३ जनाको दरले २१ जनालाई मास्टर टीओटी तालिम दिएको छ । उनीहरुले प्रदेश तथा जिल्लामा गएर दुई दुई जनाको दरले टीओटी तालिम सम्पन्न गर्नेछन् । र उनीहरुले स्थानीय पालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिने छन् ।
यो अध्ययनमा गर्भावस्ता, प्रसुति, सुत्केरी भएको वा गर्भवतन गराएको वा खेरा गएको ६ हप्ता भएका महिलाको मृत्यु भएकाहरुको एकीन विवरण आउने समेत बताइएको छ ।
मन्त्रालयले यो परियोजनाका लागि विविन्न दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोग रहेको स्पष्ट पारेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com