तनहुँमै पीसीआर परीक्षण

दमौली, ३ असोज । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो ।

प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमूनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिए । प्रयोशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहजरुपमा छिटो, छरितो परीक्षण हुन्छ”, उनले भने ।

यसका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिका आफैँले व्यवस्था गरेको हो । यसका लागि व्यासका जनप्रतिनिधिले एक महिनाबापतको रु १२ लाख सहयोग गरेका छन् ।

नगरपालिकाअन्तर्गत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीले प्रयोगशालाका लागि रु छ लाख सहयोग गरेका छन् । यसका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टे«लियाकोतर्फबाट रु दुई(दुई लाख सहयोग गरिएको थियो ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *