१५ प्रतिशत जनतालाई कोभिड पूर्ण खोप दिएको भन्दै नेपालले पायो डब्लुएचओबाट बधाई

काठमाडौँ, १७ भदौ । छोटो समयमा १५ प्रतिशत जनतालाई पूर्ण खोप दिन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का तर्फबाट नेपालले बधाई पाएको छ ।

डव्लुएचओको दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले बुधबार नेपाललाई बधाई दिएकी हुन् । उनले भनेकी छन्, ‘छोटो समयमा एक करोड डोज बढी खोप व्यवस्थापन गर्नु र कुल जनसंख्याको १५ प्रतिशत बढीलाई खोप दिलाउन सफल भएकोमा नेपाललाई बधाई ।’

असोज अन्तिमसम्म एक तिहाई जनतालाई खोप पुर्‍याउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म पहिलो डोज १७.९ प्रतिशत र पूर्ण मात्रा १५.४ प्रतिशतलाई दिन सफल भएको छ ।

खोप लगाउनका लागि तोकिएका २ करोड १७ लाख ५६ हजार ७६३ जना व्यक्तिमध्ये मंगलबारसम्म ५४ लाख २४ हजार ८३६ जना (१७.९ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना ( १५.४ प्रतिशत) पुगेको छ । पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ हजार १६४ जना रहेको छ ।

नेपालले बधाई पाउनुमा डव्लुएचओले तोकेको लक्ष्य सहज ढंगले पार गर्नुमा हो ।

डव्लुएचओले नेपाल जस्तो न्युन तथा मध्यम आय भएका देशहरुले सेम्टेम्बरको अन्त्यसम्ममा कम्तीमा १० प्रतिशत जनतालाई पूर्ण खोप दिन सकेमा राम्रो हुने बताएको थियो । नेपालले खोप लगाउन सुरु गरेको केही समय भएपनि उपलव्धताको आधारमा छोटो समयमा सफलता हातपारेको विज्ञहरु बताउँछन् ।

दक्षिणपूर्वी एसियाली देशमा कोभिड १९ को खोप लगाउनेमा नेपाल अहिले भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड भन्दा अगाडी छ ।
नेपालमा अहिलेसम्म कोभिडविरुद्धको खोपमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जानसन खोप लगाइएको छ ।

सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *