चीनबाट १६ लाख डोज भेरोसेल खोप दुई दिन भित्र आउँदै
काठमाडौँ, २ भदौ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसंग खरीद गरेको कोभिडबिरुद्धको खोप भेरोसेलको ६० लाख डोजमध्ये पर्सीसम्ममा १६ लाख डोज आउने भएको छ ।
नेपाल एयरलायन्सको वाइडबडी विमानले दुई खेपमा गरी १६ लाख डोज खोप ल्याउन लागेको हो ।
पहिलो चरणको आठ लाख डोज खोप लिन नेपाल एयरलायन्सको विमान अहिले विहान ११ : ३० बजे चीनको प्रान्तिय शहर तियानजीन उडान भर्दैछ । सो विमानले आज राती वा भोलि विहानै पहिलो खेप ८ लाख डोज भेरोसेल खोप ल्याउने छ । सोही विमाग भोली दिउसो अर्को खेप लिन त्यस तर्फ प्रस्थान गर्नेछ । त्यसले पर्सी विहान दोस्रो खेप ल्याउने छ ।
‘तियानजीन विमानस्थलमा अहिले कोरोनाका कारण उडानमा केही ढिलाई भइरहेको छ । आज विहानै जानुपर्ने विमानको तालिका केही पछाडी सरेको जानकारी पाएको छु । आज अवेर राती वा भोली सबेरै पहिलो खोप आउने छ । त्यसपछि दोस्रो खेपका लागि भोली नै त्यसतर्फ अर्को उडान भर्नेछ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भने । उनले दुई साता भित्र खरीद गरिएका बाँकी ४४ लाख खोप आईपुग्ने बताए ।
यता जापानले कोभ्याक्स सुविधा अन्तरगत पठाएको १६ लाख डोज मध्ये बाँकी रहेको ८ लाख डोज एस्ट्राजेनेका आगामी ६ र ८ भदौमा चार चार लाखको दरले आउने भएको छ ।
यसअघि जापानबाट साउन २३ र २४ गते क्रमश ५ लाख ४८ हजार र २ लाख ५२ हजार डोज गरी कुल ८ लाख डोज एस्ट्राजेनेका खोप आएको थियो ।
त्यतिबेला नै भुटानबाट २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप आएको थियो ।
सम्पर्क इमेल : [email protected]