१ करोड ५९ लाख डोज खोप खरिद गर्न एडीबी र सरकारबीच ऋण सम्झौता

काठमाडौँ, २७ साउन ।  कोभिड – १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)  बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

बुधवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड -१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड -१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।

यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *